रुपन्देहीको बुटवलमा हुन लागेको पाँचौ अर्ना राष्ट्रिय खुल्ला रनिङ शिल्ड प्रतियोगिता तथा साँस्कृतिक महोत्सवको तयारी पूरा भएको छ।
यसअघि काठमाडौंमा मात्रै हुँदै आएको राष्ट्रिय खुल्ला रनिङ शिल्ड प्रतियोगिता तथा साँस्कृतिक महोत्सव पहिलोपटक राजधानी बाहिर रुपन्देहीको बुटवलमा आयोजना हुन लागेको हो। आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी बुटवल मण्डपमा फागुन १९ देखि २५ गतेसम्म पाँचौ प्रतियोगिता तथा साँस्कृतिक महोत्सवको सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।
कार्यक्रमको उद्घाटन प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने तय भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार खिमबहादुर हमालले बताए। देशभरबाट जो सुकैले पनि दोहोरी प्रतियोगितामा सहभागी हुन पाउने र अहिलेसम्म ४८ समूहले नाम दर्ता गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देही अध्यक्ष दीपक गरौजाले जानकारी दिए।
यो प्रतियोगितामा करिब ५० समूहको सहभागिता रहने छ। मेलामा १ सय २० वटा स्टलहरु समेत रहनेछन्। यसैगरी, बाल उद्यान, रेष्टुरेण्टका पनि स्टलहरु रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा पुरुष—पुरुष वा महिला—महिलाबीचमा पनि दोहोरीमा भाग लिन सक्ने व्यवस्था गरिएको छ। महोत्सवमा प्रवेशका लागि विद्यार्थीलाइ ३० र अन्यका लागि ५० रुपैयाँको टिकटको व्यवस्था समेत गरिएको छ। एक हप्तासम्म सञ्चालन हुने कार्यक्रमको अनुमानित खर्च ४९ लाख र आम्दानी ५० लाखको हाराहारीमा हुने आंकलन गरिएको छ। कार्यक्रमको आयोजना प्रतिष्ठान केन्द्र र सहआयोजक प्रतिष्ठानको जिल्ला रुपन्देही शाखाले गरेका छन्।
कार्यक्रममा राष्ट्रिस्तरमै ख्याती कमाइसकेका सबै कलाकार साथै स्थानीय स्तरका सम्पूर्ण लोकदोहोरी कलाकारहरु गरी २ हजार कलाकारको जमघट हुनेछ भने एक हप्तासम्मको मेलामा कम्तीमा करिब ५० हजार दर्शकको उपस्थिति रहनेछ।
प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख २० हजार, तृतीय पुरस्कार ७० हजार, सान्त्वना पुरस्कार ३५ हजार र उत्कृष्ट गायिका÷गायिकालाई १५—१५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।