श्रमिक र रोजगारदाता दुवैको भलो हुने भन्दै बहुप्रचारित सामाजिक सुरक्षा कार्यक्रममा समेटिन रोजगारदाता हिचकिचाएका छन्।
मुलुकभर ९ लाखभन्दा बढी रोजगारदाता (प्रतिष्ठानस्तरका) रहेकामा कार्यक्रम घोषणा भएको करिब ४ महिना पुग्न लाग्दा २१ सय हाराहारी मात्र सहभागी भएका छन्। सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको सहमतिमा गत मंसिर ११ मा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको थियो। असल श्रम सम्बन्ध बनाउन ल्याइएको कार्यक्रममा रोजगारदाताको सहभागिता निकै न्यून छ।
मुलुकभर ९ लाख २२ हजार प्रतिष्ठान छन्। तीमध्ये हालसम्म २१ सय ३० रोजगारदाता मात्र सहभागी भएका छन्। सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले कार्यक्रमबारे बुझाउनै नसकिएको स्विकारे।
‘योगदानकर्ताले यसलाई सञ्चय कोष र नागरिक लगानी कोषसँग तुलना गरेको पाइयो,’ उनले भने, ‘यो कार्यक्रम दीर्घकालका लागि ल्याइएको हो।’ कोषमा रोजगारदाताको २० र श्रमिको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान हुन्छ। कान्तिपुरमा खबर छ।