सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन्। सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन्।
माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन्। राम्रो आम्दानी गर्ने उद्देश्यले पोखरी खनेर भुरा हालेको भए पनि पोखरी सुक्न थालेपछि कृषक निराश भएको स्थानीय माछा कृषक सञ्जयकुमार मेहताले बताए। मेहताको पाँच पोखरी रहेकामा सबै सुकेका छन्। यसबाट चार लाख बराबरको घाटा भएको उनले बताए।
त्यसैगरी नरबहादुर थापाको तीन र केशवराज माझीको चारसहित सो क्षेत्रमा दर्जनौँ माछा कृषकको पोखरी सुकेको मेहताले बताए। मेहताका अनुसार माछा पोखरी सुक्दा मधुवन क्षेत्रमा मात्रै ३० देखि ४० लाखसम्मको घाटा भएको छ। सप्तकोशी नदीको बहाव पश्चिमतर्फ गएको र पानीको सतह पनि घटेका कारणले माछा पोखरी सुकेको उनले बताए।