नेपालको पानी जनताको लगानीको पहिलो चरणमा माथिल्लो त्रिशूली थ्री 'बी’ साधारण शेयर आईपीओ विहिबारदेखि खुला भएको छ।
३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री 'बी’ पहिलो शेयर बिहीबारबादेखि खुला हुने भएको हो। बिहीबारदेखि उक्त आयोजनाको साधारण शेयरका लागि पहिलो आवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले दिने भएका छन्।
यस अघि नै प्रधानमन्त्रीले आईपीओ किन्ने घोषणा गरिसकेका छन। आईपीओ खरिद गर्नका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता समेत खोलिसकेका छन्।
३७ मेगावाट क्षमताको उक्त आयोजना नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को मुख्य लगानीमा निर्माण हुन लागेको आयोजना हो।
इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्ने छ।
सिचुवान कम्पनीका सिइओ वाङ वेनले ३ वर्ष निर्माण अवधि रहेको आयोजनाले २९ फागुन २०७७ भित्रमा बिजुली उत्पादन थाल्ने बताइएको छ। नेपालको पानी जनताको लगानी अन्तर्गत १९ वटा आयोजना सरकारले छनौट गरेको छ।
पानीमा जनताको लगानी, हरेक नेपाली विद्युत् कम्पनीको शेयरधनी,’ बनाउने नाराका साथमा यो पहिलो आयोजनामा जनतालाई शेयरधनी बनाउने आयोजना हो। फागुन २ गते 'जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा समारोहमा नै प्रधानमन्त्रीले पहिलो शेयर आफूले किन्ने बताएका थिए।
नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम शुरु गर्न लागिएको हो। त्रिशुली जलविद्युत् कम्पनीका अनुसार पहिलो चरणमा ३७ लाख ५ हजार कित्ता साधारण शेयर बिक्री खुला गरिनेछ। 'जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत साधारण शेयर बिक्री गर्न लागिएको यो पहिलो जलविद्युत् कम्पनी हो।
सो कम्पनीको शेयर निष्काशन छिटोमा यही चैत ११ गते र ढिलोमा आगामी वैशाख ६ गतेसम्म हुनेछ। कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोडको १५ प्रतिशत अर्थात् ३७ करोड पाँच लाख बराबरको १०० अङ्कति दरको ३७ लाख पाँच हजार कित्ता शेयर बिक्री गर्न लागिएको हो।
अग्रिम रुपमा शेयर बिक्री गर्न लागिएकाले हाल प्रतिशेयर १० का दरले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको छ।
कूल बिक्री हुने शेयरमध्ये एक लाख ११ हजार १५० कित्ता शेयर भने कम्पनीका कर्मचारीलाई संरक्षण गरिएको छ। शेयरमा आवेदन दिने आवेदकले पहिलो चरणमा प्रतिशेयर १० का दरले हुन आउने रु तीन करोड ७० लाख ५० हजार मात्र अग्रिम भुक्तानीका लागि आग्रह गरिएको छ। उक्त शेयरवापत चुक्ता हुन बाँकी रहने रु ९० भने नियमानुसार पछि माग गरिने आह्वानपत्रमा उल्लेख छ।
त्यो भनेको आयोजनाको निर्माण ७५ प्रतिशत सकिएपछि थप रकम माग गरिनेछ। नुवाकोटको साविक मनकामना गाविस र रसुवाको लहरेपौवा गाविसको सीमानामा आयोजना रहेको छ। आयोजनाको कूल क्षमता ३७ मेगावाट रहेको छ भने कूल लागत निर्माण अवधिको व्याज समेत गरी कूल आठ अर्ब २२ करोड ७४ लाख रहेको छ।
शेयर बिक्री गरिएको मितिदेखि ७ दशमलव ९५ वर्षमा साधारण लगानी फिर्ता हुनेछ। सो कम्पनीको साधारण शेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लाबेल आइएमई क्यापिटल रहेको छ।