प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत त्रिशूली–३ (बी) जलविद्युत् आयोजनाको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका छन्।
‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’अभियान अन्तर्गन सो कम्पनीको शेयरमा पहिलो आवेदन प्रधानमन्त्री ओलीले दिएका हुन्। हीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले शेयरको आवेदन भरेका हुन्। यो संगै त्रिशुली जलविद्युत कम्पनीले आजैबाट प्राथमिक शेयर निष्कासन खुला गरेको छ।
कम्पनीले प्रति कित्ता सय रुपैयाँको दरमा सर्वसाधारणको लागि छुट्टाएको ३७ लाख ५ हजार कित्ता मध्ये १० प्रतिशत अग्रिम रूपमा शेयर निष्कासन गरेको हो।
शेयरधनीहरुले हाललाई प्रति शेयर १० रुपैयाँको दरमा अग्रिम शेयर खरिद गर्न सक्नेछन्। बाँकी ९० रुपैयाँ कम्पनीले दोस्रो चरणमा निष्कासन गर्नेछ। हाल प्रतिकित्ता १० रुपैयाँमा शेयर खरिद गर्नेले नै बाँकी ९० रुपैयाँको दरमा शेयर खरिद गर्ने सक्ने कम्पनीले जनाएको छ। सर्वसाधारणले प्रतिकित्ता १० रुपैयाँको दरमा न्यूनतम १०० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले छिटोमा चैत्र १२ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा वैशाख ६ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।