प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलनमा गरिएको प्रतिबद्धता अनुसार लगानी नआएकोले सरकारले त्यसको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
बिहिबार राजधानीमा आयोजित साक्षात्कारमा पूर्ब अर्थमन्त्री महतले तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै भने ‘उक्त सम्मेलनमा आएको प्रतिबद्धता अनुसार लगानी किन आएन भनेर सरकारले गम्भीर समिक्षा गर्नुपर्दछ।’
उनले सरकारले गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य रहेको भन्दै यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यसमा सरकार चुकेको दाबी गरे।
पूर्ब अर्थमन्त्री महतले विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकताहरु पूरा गर्नुपर्नेमा जोड दिए। महतले भने ‘औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी छ।’ उनले उद्योग–धन्दा, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी रहेको उल्लेख गरे। महतले लगानी सम्मेलनको लागि प्रशासनिक तथा व्यवस्थापकीय पाटो पनि चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए।
मुलुकको विकास र समृद्धिको लागि लगानी सम्मेलन आवश्यक भएको भन्दै डा. महतले स्वदेशी लगानीकर्ताका जायज मागको सुनुवाई गर्न सरकारको ध्यानाकर्षण गराए।