काठमाडौंमा आगामी साता हुने लगानी सम्मेलनमा चीनबाट सबैभन्दा बढी सहभागी हुने भएका छन्।
लगानी बोर्ड कार्यालयका अनुसार सम्मेलनमा ३८ देशका ६ सय २० लगानीकर्ता सहभागी हुने निश्चित भएकामा चीनका २ सय ९ जना सरकारी अधिकारी तथा लगानीकर्ताले नाम टिपाएका छन्।
भारतबाट १ सय १० र नेपालका तर्फबाट ४९ जना सहभागी हुने निश्चित भएको छ। बोर्डका प्रवक्ता बलराम रिजालले चिनियाँको सहभागिता अझै बढ्ने अनुमान गरेको बताए। ‘धेरै देशबाट लगानीकर्ताले चासो देखाइरहेका छन्। सबै मुलुकबाट गरी करिब १ हजार जनाको सहभागिता हुनेछ,’ उनले भने।
अघिल्लो पटकको सम्मेलनमा पनि चिनियाँकै उपस्थिति बढी थियो। २०७३ फागुन १९ र २० गते भएको सम्मेलनमा करिब १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो। यसमध्ये चीनका लगानीकर्ताले मात्रै करिब साढे ८ खर्ब रुपैयाँको प्रतिबद्धता जनाएका थिए। भारतले करिब ३१ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने भनेको थियो। त्यतिबेलाको प्रतिबद्धता भारत र चीनसहित कुनैले पनि लगानीका रूपमा परिणत गरेका छैनन्।
‘भारत र चीन दुवै देशका लगानीकर्ता केही ओगट्न पाइहालिन्छ कि भनेर आउने हुन्,’ लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले भने, ‘आयोजना ओगटेर भू–राजनीतिक हिसाबले आफ्नो उपस्थिति जनाउँछन्, आपसमा प्रतिस्पर्धा गर्छन्।’ उनका अनुसार यस्तो विषयमा त्यहाँका सरकारकै मुख्य चासो हुन्छ। ‘त्यसकारण भारत र चीन दुवै देशबाट प्रायः सरकारी लगानी रहेका कम्पनीका व्यक्तिहरू सहभागी हुन्छन्,’ उनले भने।
पन्तले गम्भीर प्रकृतिका लगानीकर्ताका लागि वातावरण सिर्जना गर्न नसकिएको बताए। ‘हामीले विगतदेखि नै आयोजनामा लगानी गर्नेहरूका लागि उपयुक्त वातावरण सिर्जना गर्न सकेका छैनौं,’ उनले भने।हालसम्म प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रकम नेपालमा भित्र्याइसक्नेमा भारत दोस्रो र चीन तेस्रो स्थानमा पर्छ। सबैभन्दा बढी रकम ‘ट्याक्स हेभन’ मुलुकहरूबाट भित्रिएको छ। कान्तिपुरमा खबर छ।