नौ वर्षअघि विमानस्थलको स्टेराइज्ड क्षेत्रमा कफीसप सञ्चालन गर्न दिने निर्णय हुँदा निकै विवाद भयो।
विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा निजी कफीसप चल्न दिनु सुरक्षाको दृष्टिकोणले गलत भएको सुरक्षा अधिकारीहरूको विश्लेषण थियो। तर, उच्च राजनीतिक दबाबका अगाडि उनीहरूको केही लागेन। कफी पसलको आवरणमा त्यहाँबाट अवैध धन्दा हुने गरेको आशंका धेरैले गर्दै आएका थिए। जुन शुक्रबार पुष्टि पनि भएको छ। पसलका सञ्चालक सुवास श्रेष्ठ विभिन्न देशका अवैध मुद्रासहित पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानमा उनले पसलबाट विदेशी मुद्राको अवैध कारोबार गर्दै आएको खुलासा भएको छ।
उनको साथबाट २२ हजार एक सय ५० थाई भाट, १० हजार अमेरिकन डलर, ८० हजार चिनियाँ युआन र एक हजार तीन सय ८० युरो बरामद भएको छ। उनकी श्रीमती, दुई छोरी र एक छोरालाई समेत प्रहरीले पक्राउ गरेको छ। राजस्व अनुसन्धान विभागले श्रेष्ठदम्पतीलाई थुनामा राखी कारबाही अघि बढाएको छ।
स्रोतका अनुसार पटक–पटक उनले त्यसरी अवैध विदेशी मुद्रा लैजाने गरेको सूचनापछि प्रहरीले चेकजाँच गरेको थियो। विगतमा उनीमाथि चेकजाँचसमेत हुने गरेको थिएन। स्टेराइज्ड क्षेत्र भनेको सबै चेकजाँच पूरा गरेपछि विमानको प्रतीक्षा गर्ने ठाउँ हो। उनी त्यहीँबाट पक्राउ परेका हुन्।
श्रेष्ठले बरामद विदेशी मुद्राको स्रोत खुलाउन सकेका छैनन्। विदेश जाँदा बढीमा पाँच हजार अमेरिकी डलर बोक्ने पाइने नियम छ। अन्य विदेशी मुद्राको नेपालमा कारोबार हुँदैन। विदेश भ्रमणको उद्देश्यले डलर सटही गर्दा पासपोर्टमा समेत उल्लेख गर्नुपर्ने नियम छ। तर, पक्राउ परेका श्रेष्ठको पासपोर्टमा ती विदेशी मुद्रा सटहीबारे केही उल्लेख छैन। बरामद विदेशी मुद्राको स्रोत नखुलेकाले उनलाई पक्राउ गरी राजस्वमा बुझाइएको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारी बताउँछन्। नयाँ पत्रिकामा खबर छ।