रसुवागढी जलविद्युत आयोजना, माथिल्लो सान्जेन र सान्जेन गरी १६८ मेगावाट जलविद्युत् आयोजनामा पुँजी जुटाउन बैशाख पहिलो साताबाट सर्वसाधरणका लागि शेयर खुलाइने भएको छ ।
ऊर्जा मन्त्रालयले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रीस्तरीय बैठकबाट हालै मात्र जनताको जलविद्युत आयोजनाअन्तर्गत पारिएका यी दुई आयोजनाको लागि आगामी बैशाख ६ देखि १० गतेसम्म शेयर आवेदन खुल्ला गर्ने जानकारी दिएको हो । दुबै आयोजनामा सर्वसाधारणको १५–१५ प्रतिशत शेयर रहने व्यवस्था गरिएको छ । स्थानीयले छूट्टाइएको १० प्रतिशत र सर्वसाधारणलाई छुट्टाइएको १५ प्रतिशतबाहेक अन्य ७५ प्रतिशत शेयर यसअघि नै आयोजनाले उठाइसकेको छ । स्थानीयका लागि सान्जेनमा ५४ करोड ७५ लाख रुपैयाँ बराबरका ५४ लाख ७५ हजार कित्ता शेयर छुट्टाइएको छ । त्यस्तै, रसुवागढी आयोजनामा एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड २ लाख ६३ हजार १५० कित्ता शेयर सर्वसाधारणका लागि छुट्टाइएको छ । रसुवागढीबाट १११ मेगावाट, सान्जेनबाट ५७ मेगावाट विद्युत् उत्पादन गर्न लक्ष्य राखिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताए । दुबै आयोजनामा मन्त्रिपरिषद्का सबै सदस्यहरुले सेयर भर्ने प्रतिबद्धता जनाएको मन्त्री पुनको भनाइ छ ।
न्यूनतम ५० देखि अधिकतम पाँच हजार कित्ता शेयर भर्न पाइने व्यवस्था गरिएको छ । यसअघि माथिल्लो त्रिशूली थ्री ’बी’मा १० प्रतिशत रकमले अर्थात १०० रुपैयाँ शेयरको लागि १० रुपैयाँले बुकिङ गर्न पाइने व्यवस्था गरिएकोमा यसमा भने त्यस्तो व्यवस्था गरिएको छैन । दुवै आयोजनाको ५० प्रतिशतभन्दा बढी प्रगति भएको कारण शतप्रतिशत रकम नै बुझाउनु पर्ने व्यवस्था गरिएको हो । सान्जेनमा अहिलेसम्म ७७ प्रतिशत भौतिक प्रगति भएको छ भने रसुवागढीमा ७० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । २०७६ साल फागुन सातगतेबाट उत्पादन सुरु गर्ने गरी आयोजनाको काम गरिएको मन्त्रालयले जनाएको छ ।