राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको साँवा–ब्याजबापत बुझाउनुपर्ने चैतको किस्ता पनि तिर्न नसक्ने भएको छ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण ३७ अर्ब ५८ करोड रुपैयाँ छ। ऋणको साँवा–ब्याजको किस्ता १५ वर्षसम्म तीन–तीन महिनामा बुझाउने सर्त छ। निगमले दुई वाइड बडीको ८० करोड ४२ लाख र दुई न्यारो बडीको ३३ करोड नौ लाख रुपैयाँ गरी एक किस्तामा एक अर्ब १३ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ।
निगमले पुसको किस्ता पनि पूरै तिरेको छैन। निगमका सहप्रवक्ता नवराज कोइरालाका अनुसार एक अर्ब १३ करोडमध्ये करिब ४४ करोड रुपैयाँ पुसमा तिरेको थियो। यसैगरी, चैतको किस्ता पनि निगमले पूरै नतिरेर जति आम्दानी भएको छ, त्यत्तिमात्रै तिर्ने तयारी गरेको छ। ‘हाम्रो योजना त पूरै तिर्ने हो,’ सहप्रवक्ता कोइरालाले भने, ‘पूरै किस्ता तिर्न पुग्ने गरी आम्दानी नभएको हुन सक्छ।’
उनका अनुसार पुगे पूरै, नपुगे जति पुग्छ, त्यत्ति तिर्ने योजना छ। निगमसँग रहेका अन्तर्राष्ट्रिय उडान गर्ने दुई न्यारो बडी, दुई वाइड बडी र एक बोइङ जहाज पूर्ण रुपमा सञ्चालन नहुँदा ऋणको किस्ता तिर्न नसकेको हो। पाँचवटा जहाजबाट निगमले दैनिक ७० घन्टा उडान गराउन सक्छ। तर, ती जहाजलाई दैनिक ३४ घन्टा मात्रै उडाइरहेको छ। निगमले क्षमताअनुसार जहाज नउडाउँदा आम्दानी कम छ। निगमले बजार नभएको भन्दै भएका जहाजहरु पूर्ण क्षमतामा उडाएको छैन।
निगमले बजारै नपाएर जहाज नउडाएको भने होइन। हाल उडाइरहेकै गन्तव्यमा उडान संख्या थपेर बढी आम्दानी गर्न सकिने ठाउँ छ। तर, निगमका उच्च अधिकारीले नेपालमा उडान गर्ने विदेशी वायुसेवा कम्पनीको स्वार्थमा आफ्ना जहाज पूर्ण क्षमतामा नउडाएको तथ्यांकले देखाउँछ। निगमले हाल विभिन्न आठ गन्तव्यमा सातामा ४० उडान गर्छ। ती गन्तव्यबाट नेपालमा दैनिक ३० हाराहारी उडान हुन्छन्। नागरिक दैनिकमा खबर छ।