उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ। पूर्व सांसद समेत रहेका गोल्छाको मंगलबार राति भारतको चेन्नाईमा उपचारका क्रममा निधन भएको हो।
मृगौला प्रत्यारोपण गरेको दुई सातामै उनको निधन भएको हो। गोल्छा २०६४ सालको संविधानसभामा नेपाली कांग्रेसबाट सभासद् समेत भएका थिए। नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत रहेका गोल्छाको निधन प्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।
सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर गोल्छाको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाउनु परेको उल्लेख गरेका छन्। गोल्छाको अग्रसरतामा २४ वटा उद्योग स्थापना भएका थिए।
हुलास वायर, खाद्यन्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका उद्योग स्थापना भएको थियो। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शव विहीवारसम्म काठमाडौँ ल्याएर पशुपतिमा अन्त्येष्टी गरिनेछ।