लामो समयदेखि सुनसानजस्तै रहेको रामेछापको मन्थली विमानस्थल यतिखेर विदेशी पर्यटकले भरिभराउ भएको छ । त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मतसम्भार ३ महिनासम्म चल्ने भएपछि विमान कम्पनीहरुले सोलुखुम्बुको लुक्ला उडान सुरु गरेका कारण मन्थली विमानस्थल पर्यटकले भरिएको हो ।
निजी विमान कम्पनीहरुले विशेष अवस्था र आर्थिक हिसाबले पनि फाइदा हुने भएपछि लुक्ला उडानका लागि यो विमानस्थल प्रयोग गर्ने गरेका छन् । हिमाली क्षेत्रका सुन्दर भूभाग तथा सगरमाथासहित खुम्बु क्षेत्रका हिमाल अवलोकन र आरोहण गर्न पर्यटक आउने क्रम बढेसंगै सहजताका लागि ४ वटा निजी विमान कम्पनीहरुले दैनिक उडान भर्दै आएका छन् ।
अहिले तारा एयरलाइन्स, सिता एयरलाइन्स, समिट एयरलाइन्सलगायतले दैनिक २५ देखि ३५ वटासम्म उडान भर्दै आएका छन् । नागरिक उडड्यन प्राधिकरण रामेछापका स्टेसन प्रमुख अमितकुमार चौरासियाले सोलुखुम्वु विमानस्थलको मौसम छिनछिनमा फेरबदल हुने भएकाले अहिले विहानभर उडान भइरहेको जानकारी दिए । उनले भने, ‘काठमाडौं विमानस्थलवाट ३५ मिनेटमा पुगिने सोलुखुम्वु विमानस्थल मन्थलीको विमानस्थलवाट छोटो समयमा नै पुग्न सकिने हुँदा एकातिर विदेशी पर्यटकलाई समयको वचत अर्कोतर्फ काठमाडौं विमानस्थलको जस्तो ट्राफिक जाम नहुँने हुँदा चाँडो उडान भर्न सहज हुने गरेको छ, यहाँबाट दैनिक ५० उडानसम्म भर्न सकिन्छ ।’
काठमाडौंबाट विपी राजमार्ग हुँदै १ सय २६ किलोमिटर सडक यात्राको दुरीमा रहेको मन्थली बिमानस्थल आइपुग्न विदेशी पर्यटकहरु अहिले विहान ३ बजे नै काठमाडौंबाट हिडने गरेका छन । उनीहरु बढीमा ४ घण्टामा विमानस्थल आइपुग्ने र विहान ७ वजे सोलुखुम्वु पुगिसक्ने गरेका छन् ।
केही पर्यटकहरु सदरमुकाममा र केही भने सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेका सुबिधासम्पन्न होटलमा बसेर भोलिपल्ट मात्र सोलुखुम्वुतर्फ जान्छन । पर्यटक आउन थालेपछि सदरमुकाम मन्थली र सिन्धुलीको मुलकोटका होटल विदेशी पर्यटकले भरिभराउ हुन थालेका छन् ।
मन्थलीका ठूला होटल जिएस, एलिना चुचुरे, एसएस, लालु, पाहुनाघरलगायतका होटल विदेशी पर्यटकले भरिभराउ छन् । तीन महिनाका लागि विभिन्न ट्राभल एजेन्सीहरुले होटल बुक गराएकाले यतिखेर व्यापार राम्रो भएको जिएस होटलका संचालक सुदिप देबकोटाले वताए । अहिले होटलहरुमा विदेशी पाहुना धेरै भेटिन्छन् । अघिपछि विदेशी कम हुने यस क्षेत्रमा अहिले मन्थली विमानस्थलदेखि देवकोटा चोकसम्म विदेशी पर्यटक पैदल हिडिरहेका भेटिन्छन् । मन्थलीमा विदेशी पर्यटक राख्न होटल अपुग भएपछि काठमाडौंदेखि गाडीमा मन्थली आउने केहीलाई सिन्धुलीको सुनकोशी गाउँपालिका, मुल्कोटका होटलमा राख्ने र भोलिपल्ट मन्थली बिमानस्थलमा ल्याउने गरिएको छ ।
त्यसैगरी सोलुखुम्वुबाट विमानमा आएका पर्यटकलाई पुनः गाडीमार्फत काठमाडौं लैजाने गर्दा विदेशी पाहुना लिन आउने गाडी पनि बढेका छन् । जिल्लामा पर्यटक चहलपहल बढन थालेपछि होटल र अस्थायी रुपमा खुलेका पसलहरुमा सामानहरुको दररेट बढेको छ । पर्यटकहरुसँग बढी दस्तुर लिने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमन गरी सबै होटल तथा पसलहरुलाई अनिबार्य रुपमा मूल्य सूँचि टासेर मात्र बिक्री बितरण गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले व्यवसायीले कालोबजारी गर्न सक्ने संभावनालाई मध्यनजर गरी बजार अनुगमन गरिएको र होटल व्यवसायीलाई भेला गराई सबैको सेवा र लाग्ने दस्तुर सहितको विवरण माग गरिएको बताए । व्यवसायीको दररेट आए पछि होटलहरुमा निगरानी बढाउने र बढी लिएको पाइएमा कानूनी कारवाही अगाडि बढाउने पनि उनले बताए ।