खुलामञ्चस्थित अस्थायी बसपार्कका दुई छेउमा अवैध रूपमा सटर बनाएर ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले व्यापारीसँग १५ लाखसम्म सलामी रकमसमेत उठाएको छ।
सलामी रकम नबुझाउने व्यापारीलाई बसपार्क प्रवेशमै रोक लगाएको छ।सटर प्रयोग गरेबापत ८ देखि १५ लाखसम्म सलामी रकम उठाएको र रकम नदिने व्यापारीलाई बिल्डर्सले बसपार्कभित्र प्रवेश निधेष गरेको बसपार्कस्थित स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष हरिप्रसाद पाण्डेले बताए। बसपार्कभित्रका नाङ्लो व्यापारीसँग भने प्रतिनाङ्लो ५० हजार रुपैयाँ उठाउने गरेको छ। सलामी रकम सुरुमा ठाउँ लिएबापतको मात्रै हो। भाडाबापत हरेक महिना छुट्टै रकम बुझाउनुपर्छ।
‘दैनिक रोजीरोटीका लागि व्यापारको विकल्प छैन। वर्षौँदेखि बसपार्कमै व्यापार गर्दै आएका हौँ। पुरानो बसपार्कमा हुँदा महानगरपालिकालाई भाडा दिन्थ्यौँ। बसपार्क खुलामञ्चमा सरेपछि व्यापार चौपट भयो,’ अध्यक्ष पाण्डेले भने, ‘बसपार्कको पेटीमा सानोतिनो कारोबार गर्दैै आएका थियौं। अहिले बिल्डर्सका कर्मचारी आएर हामीलाई निकाले।
व्यापार गर्न सलामी रकम ८ देखि १५ लाख रुपैयाँ माग्दै आएका छन्। नाङ्लो व्यापारीसँग पनि सलामी रकम मागेको छ। कतिपयले रकम दिइसकेका छन्। रकम नदिनेलाई बसपार्कभित्र छिर्नै रोकेको छ। दुवैतर्फ गेटमा गार्ड नै राखेको छ।’जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले भने यस विषयमा बोल्न चाहेनन्। नयाँ पत्रिकामा खबर छ।