नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले ग्रामीण क्षेत्रमा वित्तीय संस्थाको पहुँच बृद्धी गर्नुपर्ने बताएका छन् ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिकोत्सव समारोहको बिहीबार बुटवलमा उद्घाटन गर्दै गभर्नर नेपालले शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिए । “ देशभर ५हजार ५सय ६४ शाखा छन् तर ग्रामीण क्षेत्रमा अझै पुग्न सकेका छैनन । ग्रामीण भेगमा पैसा छ तर लगानी र बचत के हो थाहा छैन ।” उनले भने । ५५ प्रतिशतले मात्रै बैंकबाट ऋण लिने गरेको गभर्नर नेपालले बताए ।
उनले बैक तथा वित्तिय संस्थाहरु आपसमा गाभिएका कारण वित्तिय सबलिकरण र संस्थात्मक व्यवस्थापनमा सहज भएको बताए । “हिजो मर्ज प्रकृया पिडादायी भएपनी जर्जर अवस्थामा पुगेका संस्था मर्ज गर्दा परिणाम राम्रो आएको छ । आगामी दिनमा मर्ज सहज र सरल हुन्छ ।” उनले भने ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कार्कीले वित्तीय संस्थामा बढेको अस्वस्थ प्रतिष्पर्धा रोक्नुपर्ने बताए । “ वित्तीय क्षेत्रमा चुनौति बढी छन । ऋणी कसलाई पत्याउने नपत्याउने भन्नुे कुरा जटिल छ । ” उनले भने । चौतारी विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जगत पोखरेल, कर्मचारी संघका अध्यक्ष नवराज ढकाल, वित्तीय कर्मचारी संघका अध्यक्ष रमेश जिसी लगायतले बोल्दै वित्तीय संस्था सफल बनाउने हात कर्मचारीको रहेको धारणा राखेका थिए ।