प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स बितरणका बिषयमा नेपाल धितोपत्र बोर्डसंग जवाफ माग गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उपसमितिले दिएको सुझावपछि बोर्ड सचेत नभएको र नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स बितरण भएको प्रति आपत्ति जनाउदै यस बिषयमा जवाफ माग गर्ने निर्णय गरेको हो। बैठकमा समिति सदस्यहरुले पुँजीबजारबारे उपसमितिले अध्ययन उपलव्ध गराएको प्रतिवेदनमा बोर्ड गम्भीर नभएको आरोप लगाएका थिए।
समिति सदस्य पदम गिरीले नेप्सेलाई अन्तराष्ट्रियस्तरको बनाउनका लागि सिफरिस गरेपनि त्यसलाई लत्याएर नयाँ स्टक एक्सचेञ्जका लागि प्रक्रिया अघि बढ्ने कुरा संवेदनशिल भएको बताए। उनले नेप्सेको प्रतिष्पर्धी भित्राउनुपर्ने अवस्थाका बारेमा बोर्डसंग जानकारी लिनुपर्ने उल्लेख गरे। उनले उपसमितिको प्रतिवेदनको विपरित ब्रोकर लाइसेन्स दिने बिषयमा छानविन गर्नुपर्ने बताए।
त्यस्तै समिति सदस्य ज्ञानेन्द्र शाहीले भइरहेको नेप्सेलाई प्रभावकारी बनाउनुपर्नेमा नयाँलाई भित्राउनु उचित नभएकाले लाइसेन्स दिने काम रोक्न सरकारलाई निर्देशन दिनुपर्ने बताए। त्यस्तै समिति सदस्य मेटमणी चौधरीले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स बितरणका स्पष्ट हुनुपर्ने भन्दै बोर्डसंग जवाफ माग्नुपर्ने बताए।
समितिका अन्य सदस्यहरुले नयाँ स्टक र धितोपत्र लाइसेन्सको प्रक्रियाका बिषयमा गहन छलफल गरेर मात्रै निष्कर्षमा पुग्दै सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने धारणा राखेका थिए।