अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताएका छन्।
महिला आर्थिक पत्रकार सङ्घ (फेजा) को औपचारिक उद्घाटन कार्यक्रममा उहाँले अर्थतन्त्र सुधारका लागि सबैले सहयोगको अपेक्षा सरकारले राखेको बताए।
“विस्तारै अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन्। सुधारका लागि सरकार र अर्थ मन्त्रालयको प्रयासले पुग्दैन । सबैले आआफ्नो क्षेत्रबाट लाग्न जरुरी छ”, अर्थमन्त्री डा महतले भने, “सामूहिक अठोटका साथ काम गरौँ। जहाँ अप्ठ्यारो छ, त्यसलाई फुकाउन अर्थमन्त्रालय तयार छ।” आर्थिक सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको र सकारात्मक नतिजा पनि देखिँदै गएको उनको भनाइ छ।
अर्थमन्त्री महतले मुलुकको अर्थ–सामाजिक विकासका लागि महिला सशक्तीकरणको आवश्यकता पनि औँल्याए। हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउँदै उहाँले जाने र समावेशी विकासको अवधारणा अँगालेपछि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा महिला सहभागिता बढेको बताए।