नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। आज १ हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ कायम भएको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ पुगेको थियो।
तेजाबी सुनको मूल्य १ लाख १६ हजार ४५० रुपैयाँ पुगेको छ।आज सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
इजरायल प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अंकले वृद्धि भएको बताइएको छ। विश्वव्यापीरूपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा परेको हो।