भेरी–बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण लक्ष्य अगावै सम्पन्न हुने भएको छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ मेशिन (टीबीएम)ले ११ महीनामा भेरी बबईको ८.३ किलोमिटर सुरुङ निर्माण सम्पन्न गरेको छ ।
भेरीको पानीलाई १२ किमी लामो सुरुङमार्फत बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिंचाइ सुविधा पुर्याउने उद्देश्यले सरकारले राष्ट्रिय गौरवका रुपमा आयोजना अघि बढाएको हो । आयोजनाले आगामी फागुनसम्म बाँकी चार किमी सुरुङ निर्माण गरिसक्ने जनाएको छ ।
आयोजना प्रमुख सञ्जीव बरालले कुनै प्रतिकूल परिस्थिति सिर्जना नभए फागुनसम्म सुरुङ निर्माण पूरा हुने बताए । सरकारले सन् २०२० मार्चसम्म सुरुङ निर्माण गर्ने लक्ष्य लिएको छ । अमेरिकी कम्पनी रोबिन्सले उत्पादन गरेको टिबिएम चालकरहित अत्याधुनिक प्रविधिको मेशिन हो ।
गत वर्ष कात्तिक मसान्तदेखि मेशिनले सुरुङ खन्न थालेको हो । चाइना ओभरसिज इञ्जिनीयरिङ गु्रप लिमिटेड (कोभेक) ले सुरुङ निर्माण गरिरहेको छ । आयोजना बाँध र विद्युतगृह निर्माणको पूर्वतयारीमा जुटेको छ ।
हाल सिंचाइ विभागले बाँध र विद्युत्गृह निर्माणसम्बन्धी प्रतिवेदन अध्ययन गर्दैछ । दुई ठूला संरचना निर्माण हुने भएकाले विभागले विस्तृतमा अध्ययनमा गरिरहेको छ । आयोजना प्रमुख बरालले प्रतिवेदन स्वीकृत भएपछि विश्वव्यापी बोलपत्र आह्वान गरिने बताए ।
टिबिएमले तोलीखोला आसपासको जोखिमयुक्त क्षेत्र पार नगरुञ्जेल आयोजनालाई संरचना निर्माणको पूर्वतयारीमा जुट्न कठिनाइ थियो । जोखिमपूर्ण चुरे पर्वत पार गरेसंँगै यो नमूना आयोजना सफल हुने ठानिएको छ । सर्भेका बेला तोलीखोला आसपासमा सुरुङ निर्माणमा प्रतिकूलता आउन सक्ने अनुमान गरिएको थियो ।
त्यहाँ माटामा पानी बढी अर्थात् जमीन लेदो थियो । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत पर्ने चिप्लेमा बाँधस्थल बन्दैछ । आयोजना सफल हुने देखेपछि मात्र विद्युत्गृह र बाँध निर्माणसम्बन्धी विस्तृत अध्ययन थालिएको थियो । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिंचाइ योजना विस्तार गरिनेछ ।
चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । बबईमा खसालिएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य छ ।स्वदेशी लगानीमा निर्माण हुने लागेको आयोजनाको कूल लागत र साढे १६ अर्ब लाग्ने अनुमान छ ।