अर्थमन्त्री डा युवराज खतिवडाले गुठी संस्थानलाई आधुनिक सामाजिक संस्थानका रुपमा विकास गर्न जरुरी रहेको औँल्याएका छन्।
गुरुयोजना बनाएर नयाँ ढङ्गले व्यवस्थापन गरी समृद्धिको मार्गमा लाग्न उनले संस्थानका पदाधिकारीलाई सुझाव दिए। संस्थानको ५५ औँ वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले इतिहासको धरोहर गुठी संस्थानको अस्तित्व जोगाउँदै यसलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औँल्याए।
'सामाजिक पूँजी समृद्धिको महत्वपूर्ण आधार हो,' अर्थमन्त्री खतिवडाको भने,'गुठी संस्थानले देशको समृद्धिमा पनि टेवा पुर्याउनुपर्छ, यसतर्फ तपाईहरुको ध्यान जाओस्।' उनले सम्पत्ति जगेर्नाको नाममा आयआर्जन नगरी बस्नु विडम्बना हो भन्दै संस्थानको विकासका लागि छलफल गरेर अघि बढ्न मन्त्रालय तयार रहेको बताए।
सरकारले गुठी संस्थानको मुआब्जा रकम नदिएको भन्ने प्रसङ्गलाई ईंकित गर्दै अर्थमन्त्री खतिवडाले परम्परागत संस्कृति संरक्षणसँगै आधुनिक विकासमा जान चुनौती रहेको बताए। 'सरकार दुईवटै कार्यलाई सँगसँगै लैजाने योजनामा छ, कतै सरकारले त कतै गुठीले सहयोग गर्नुपर्छ,'उनले भने।