पश्चिम मकवानपुरको मनहरीमा सञ्चालन भएको चौथो मनहरी महोत्सवबाट संकलित रकम खर्चेर मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको भवन निर्माण हुने भएको छ ।
पश्चिम क्षेत्र समितिका बरिष्ठ उपाध्यक्ष नारायण सुवेदीले दान दिएको मनहरी ७ स्थित १० धूर जग्गामा भवन बन्न लागेको हो । भवनको सिलान्यास मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले संयुक्त रुपमा गरेका छन् । भवन निर्माणका लागि चौथो मनहरी महोत्सवबाट १० लाख रुपियाँ संकलन भएको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गोविन्द रिजालले बताए ।
उनका अनुसार अब धमाधम भवन निर्माण थालिनेछ । दुईतल्ले भवन अन्डरग्राउण्ड हलसहित निर्माण गर्नेगरी प्राविधिकले नक्सा तयार पारेका छन् । ‘लामो समयदेखि हामी कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छौँ’, सभापति रिजालले भने–‘अब आफ्नै घर बनाएर छोड्ने छौँ ।’ मंसीर २१ गतेदेखि पुस २ गतेसम्म चौथो मनहरी महोत्सव मनहरी बजारको रिभरसाइडमा सञ्चालन भएको थियो । एनएस क्रियसनसँगको साझेदारीमा महोत्सव सञ्चालन गरिएको हो ।
भवन निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले समेत सहयोग गरेका छन् । स्थानीय व्यापारीहरुको तर्फबाट ३ लाख ३० हजार रुपियाँ संकलन भएको पश्चिम क्षेत्र समितिका कोषाध्यक्ष जलाल दिन मियाले बताए ।