सरकारले प्रस्ताव गरेको औद्योगिक व्यवसाय ऐन, २०७५ ले उद्योगीका सम्पूर्ण समस्या समाधान गर्नुपर्ने उद्योगी व्यवसायीले बताएका छन् ।
आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार काठमाडौमा आयोजना गरेको औद्योगिक व्यवसाय ऐनको मस्यौदामाथिको छलफलका क्रममा उनीहरुले अब बन्ने ऐन नै यस क्षेत्रको विकासका लागि अन्तिम ऐन बन्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले नेपालमा उद्योग, व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापनका लागि यसअघि थुप्रै ऐन नियम लागू गरिए पनि ती ऐनले व्यवसायीका माग सम्बोधन गर्न नसकेको बताएका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले औद्योगिक प्रतिष्ठान स्थापना एवं सञ्चालनका लागि विभिन्न मन्त्रालयबीच सहकार्य, समन्वयको अभाव हुँदा उद्योग फस्टाउन नसकेका बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर शङ्कर शर्माले उद्योगमैत्री नीति तर्जुमा गरी औद्योगिक वातावरण सिर्जना गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए। उनले निश्चित समयका लागि आयकरमा छुट दिएर भए पनि उद्योग स्थापनाका लागि प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।
देशभर उद्योग सञ्चालनका लागि लागानीमैत्री तथा प्रतिस्पर्धी उद्योग बनाउन सरकारले औद्योगिक व्यवसाय ऐनलाई अन्तिम रुप दिएको छ । ऐन जारी भएपछि उद्योग दर्ता, सञ्चालन, उत्पादन, निर्यातमा देखिएका समस्या हट्ने सरकारको दाबी छ ।