नेपाल र जापानबीच सन् १९९३ मा हस्ताक्षर गरिएको हवाई सेवा सम्झौता संशोधनका लागि पत्र आदान–प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
दुई देशका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श बैठक आयोजना गर्नेसम्बन्धी सहयोगपत्रमा पनि हस्ताक्षर भएको छ। नेपालको औपचारिक भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच बुधबार राजधानीमा हवाई सेवा सम्झौता संशोधनका लागि ‘एक्सचेन्ज अफ नोट’ र द्विपक्षीय परामर्श बैठक गर्ने सहमतिमा हस्ताक्षर भएको हो।
यो सम्झौतासँगै नेपालले जापानमा सीधा हवाई सेवा सुरु गर्नसक्ने छ । बैठकपछि दुवै देशका परराष्ट्रमन्त्रीले पत्रकार सम्मेलन गरी बैठकमा भएका सहमतिका विषयमा जानकारी गराएका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले जापानको नयाँ अध्यागमन नीतिमा नेपाललाई स्रोत मुलुकको सूचीमा राखेको भन्दै धन्यवाद दिएको बताए। रोजगारीका लागि नेपालीलाई जापान लैजाने विषयमा छिट्टै दुई पक्षबीच सम्झौता गर्ने विषयमा पनि सहमति भएको उनले बताए।
जापानी विदेशमन्त्री कोनोले अब नेपाल वायुुसेवा निगमले छिटो जापानमा हवाई सेवा दिने विश्वास व्यक्त गरे। यस्तै, बैठकमा पूर्वाधार निर्माण, कनेक्टिभिटी एवं ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगकाबारेमा पनि छलफल भएको थियो।