नयाँ आवास तथा घरायसी प्रयोजनका लागि बिजुलीको नयाँ मिटर पाउन अब लामो समय कुर्नु नपर्ने भएको छ।
विद्युत प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिन प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ ।
प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि प्रकारको दुःख नदिन निर्देशन दिएको छ। प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिङ्गल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धतासमेत जनाएको छ। कहीँ कतै त्यस्तो व्यवस्था लागू नभएको पाइए कार्यकारी निर्देशक तथा क्षेत्रीय कार्यालयका प्रमुखलाई सम्पर्क गर्नसमेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।
प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिङ्गल फेज मिटर प्रयोग गर्छन् । यसैगरी, थ्रि फेज र उद्योग तथा प्रतिष्ठानमा प्रयोग हुने ‘टिओडी’ नयाँ मिटर क्रमश : १५ र ३० दिनभित्र जडान नै गरिदिनुपर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। ग्राहकलाई प्रवाह गर्ने सेवालाई अझै प्रभावकारी बनाउन र कार्यालय प्रमुख तथा कर्मचारीलाई अझै जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।
मुलुकभर विद्युतभार कटौती अन्त्यपछि विद्युत् चुहावट, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइनको निर्माण तीव्रता दिनेलगायतका काममा केन्द्रित भएको प्राधिकरणले जनाएको छ।
नयाँ मिटर जडानमा समस्या रहेको र कर्मचारीले अनावश्यक दुःख दिने गरेको तथा घुस मागेको र घुस माग्दामाग्दै प्राधिकरणका कर्मचारीसमेत पक्राउ पर्न थालेपछि प्राधिकरणले नयाँ व्यवस्था गरेको हो।