विकासको पूर्वाधार उद्योग र व्यापार भन्ने मूल नाराका मकवानपुर उद्योग वाणिज्य संघ हेटौँडाले राष्ट्रिय औद्योगिक व्यापार मेला गर्ने भएको छ । मेला फागुन १६ देखि २६ गतेसम्म हेटौँडा ५ स्थित क्याम्पाचौरमा आयोजना हुनेछ ।
मकवानपुर उद्योग बाणिज्य संघ प्रमुख आयोजक रहेको मेलाको जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका संरक्षण रहने मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । मेलामा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवाहरुलगायत प्रदेश पहिचान झल्कने स्टलहरु समेत राखिने अध्यक्ष कटुवालले बताए । मेलामा ४ सयवटा स्टलहरु रहने जनाइएको छ । मेलामा पन्चेबाजा प्रतियोगिता पनि हुनेछ । मेला सञ्चालनका लागि १०१ जनाको मुल आयोजक समिति समेत गठन भइसकेको जनाइएको छ । मेला अवधिभर करिव ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाका लागि स्टल बुकिङ्ग सुरु भइसकेको अध्यक्ष कटुवालले जानकारी दिए ।
यसअघि हेटौँडा उपमहानगरपालिकाले मेलाको लागि उपयुक्त स्थान नभएको र विदेशी सामानहरुको मात्र खरिद बिक्री हुने भएको भन्दै रोक लगाएको थियो । उपयुक्त मेला स्थलको खोजी तथा विदेशी सामानहरुलाई प्रबद्र्धन हुने कार्यलाई न्यूनिकरण गर्नेगरी उपमहानगरपालिकाले मेलाका लागि अनुमति दिएपछि मकवानपुर उद्योग बाणिज्य संघले मेलाको तयारी गरेको बताइएको छ ।