नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न पुँजीबजारमा लगानी गर्नुपर्ने बताएका छन् ।
‘वित्तीय जागरण राष्ट्रिय अभियान’ अन्तर्गत शुक्रबारदेखि बुटवलमा सुरु भएको बैंकिङ,वीमा र पुँजीबजार प्रदर्शनी (एक्स्पो) को उद्घाटन गर्दै गभर्नर नेपालले मुलुकको समृद्धिका लागि पुँजीबजारमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।
अन्तर्राष्ट्रिय नाकाबन्दिबाट पाठ सिकेर खाडी मुलुक कतारले छोटो समयमै तिब्र आर्थिक विकास गर्न सफल भएको बताउदै उनले नेपालले नाकाबन्दिबाट पाठ सिक्न नसकेकोमा चिन्ता ब्यक्त गरे ।
मरुभुमि जस्तो मुलुक कतार दुधमा आत्मनिर्भर भएर दुध निर्यात गर्न सक्ने अवस्थामा पुगेको उदाहरण प्रस्तुत गर्दै उनले दुध लगायत अन्य कृषिजन्य उत्पादनका हिसावले अनुकूल रहेको नेपालले त्यसबाट किन लाभ लिन नसक्ने भनि प्रश्न गरे ।
कृषि प्रधान देश नेपालमा वार्षिक अरबौं रुपयाँको कृषिजन्य तथा खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहनु विडम्वनापुर्ण भएको भन्दै नेपालले समृद्धिका लागि इच्क्षा शक्ति आवस्यक रहेको बताए ।
गत पाँच महिनाको अवधिमा नेपालले साग सब्जी मात्रै पाँच अर्वको आयात गरेको र नौं अर्व बराबरको खाद्यान्न आयात गरेको भन्दै आयात प्रतिस्थापन गर्न उत्पादनशील क्षेत्रमा लगानि गर्नुपर्नेमा जोडदिए ।
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपालमा अहिले सात सय बढि बैंकहरु ले देशभर सेवा प्रवाह गरिरहेको जानकारी गराउदै अवको आवस्यकता भनेको जनतामा वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउनु रहेको बताए ।
आयोजक संस्था मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषको सभापतित्वमा सम्पन्न प्रदर्शनी उद्घाटन कार्यक्रममा नेपाल डेभलपमेन्ट बैंकर्स एशोसियसनका उपाध्यक्ष प्रकाश पौडेल,नेपाल ग्रामिण माइक्रोफाइनान्स एशोसियसनका अध्यक्ष पर्वत कार्की लगायतले मुलुकको आर्थिक विकासमा वित्तीय क्षेत्रले पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
प्रदर्शनीमा बैंकिङ करीयर र अवसर,बैंकिङ लगानी,स्वरोजगार र उद्यमशीलता,लघुवीत्त,लघुउद्यमशीलता र लघु वीमा,पुँजीबजारको विकास र अवस्था,फाइनान्सीयल टेक्नोलोजि,जिवन वीमा र निर्जिवन वीमा आवस्यकता र महत्वका बारेमा जानकारी गराइने छ । दुई दिन सम्म सञ्चालन हुने प्रदर्शनीमा वित्तीय क्षेत्र,पुँजीबजार तथा वीमा सम्बन्धि ४० बढी स्टलहरु रहेका छन् ।