भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यही माघ २१ गतेदेखि २६ गतेसम्म बुटवल मण्डपमा हुने कृषि मेलाको तयारी पुरा भएको छ।
मेलामा प्रदेश ५ का सबै जिल्लाका किसानका सम्भव भएसम्मका उत्पादन राखिने छ। मेला कार्य सम्पादन समितिको बैठकले मेलामा प्रदेश अन्तर्गतका १२ वटै जिल्लाका उत्पादन राख्न सम्वन्धित जिल्लामा पहल गर्ने निर्णय गरेको छ।
मेलामा प्रत्येक जिल्लाका कृषि उत्पादन, तरकारी तथा फलफुल सहित प्रबिधि र सरोकारवाला स्टलको सहभागिता रहने छ। ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुन गईरहेको मेलामा स्टल निर्माणको काम पनि सम्पन्न भएको छ।
मेलामा सहभागिताका लागि करिव एक सय स्टल दर्ता भएको संघका महासचिव तथा मेलाका सदस्य सचिव दिनेश प्रसाद श्रेष्ठले जानकारी दिए। किसानको बालीनालीमा लागेको रोग विषादीको उपचारका लागि मेला स्थलमा बोटविरुवाको स्वास्थ्य परिक्षण शिविर संचालनको व्यवस्था मिलाइने अध्यक्ष खिम बहादुर हमालले जानकारी दिए।