नेपाली बुलेटबाट ग्यास ढुवानी गर्न रुट परमिटसँगै विस्फोटक पदार्थ ओसारपसारको लाइसेन्स भारतले नदिँदा व्यवसायीहरूको लगानी जोखिममा परेको हो। भारतीय ग्यास बुलेटको व्यापार गुम्ने खतराले लाइसेन्स दिन तयार छैन। ‘भारतकै कम्पनीले भारतीय मापदण्डअनुसार नै बुलेट बनाएका छन्। ती बुलेट नेपाल ल्याएर सञ्चालन गर्न खोज्दा भारतले लाइसेन दिएन,’ नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले भने, ‘नेपाली व्यापारीको लगानी डुब्न लाग्यो। नेपाल सरकारबाट कुनै चासो छैन।’
०७२ मा भारतले लगाएको नाकाबन्दीपश्चात् नेपाल सरकारले स्वदेशी ग्यास बुलेटले पनि ढुवानी गर्न पाउने नीतिगत निर्णय गरेको थियो। आर्थिक वर्ष ०७३/७४ को बजेटमार्फत तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले त्यस्ता ग्यास बुलेटका लागि दुईतिहाइ भन्सार छुटको घोषणासमेत गरेका थिए। छुटले उत्साहित भएर व्यवसायीहरूले धमाधम बुलेट खरिदको अर्डर गरे। ‘सरकारकै नीतिअनुसार हामीले व्यवसाय गर्न खोजेका हौं। अर्डर पनि गर्यौं,’ संघका अध्यक्ष गोकुल भण्डारीले भने, ‘सरकारकै कमजोरीका कारण बनिसकेका बुलेट सञ्चालन गर्न सकेनौं। सरकारले बाटो खुला गरिदिनुपर्यो।’ कान्तिपुरमा खबर छ।