नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ।
मलेसियाबाट सात हजार आठ सय सत्रजना नेपाली कामदारका लागि आएका कलिङ भिसाको समय सकिएका कारण युवाले त्यसतर्फ जान लगानी गरेको २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो। मलेसिया जान एकजनाले औसतमा ३५ हजार रुपैयाँ लगानी गर्नुपर्छ।
यही साता मलेसिया सरकारको सम्बद्ध निकायले कलिङ भिसाको म्याद सकिएको र अब नथप्ने जानकारी दिएको छ। भिसाको समय सकिएपछि यी युवा अब मलेसिया जान पाउने छैनन्।
वैदेशिक रोजगार विभाग आफैंले पनि कलिङ भिसाको विवरण संकलन गर्दा सबैको (४०–५० बाहेक) भिसा सकिएको फेला परेको हो। १० महिनादेखि कचल्टिएको मलेसिया रोजगारीलाई पुरानै अवस्थामा फर्काउन विभागले भिसाको अवस्था हेर्न खोजेको थियो।
वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईंले अहिले आएका कलिङ भिसामध्ये प्रायः सबैको समय सकिएको जानकारी दिँदै अब के गर्ने भन्ने विषयमा विश्लेषण गर्ने काम भइरहेको बताए।
कलिङ भिसा प्राप्त गर्नु भनेको मलेसिया जानका लागि युवा हरेक दृष्टिकोणले सक्षम हुनु हो। मलेसियाले कलिङ भिसा प्राप्त गरेकालाई मात्र अन्तिम भिसा दिन्छ। यो अवधिसम्म प्रतिव्यक्ति ३५ हजार रुपैयाँसम्म खर्च भइसकेको हुन्छ।
विभागले माघ ७ मा सूचना जारी गरेर सम्पूर्ण म्यानपावर व्यवसायीलाई कलिङ भिसा प्राप्त गरेका व्यक्तिको विवरण उपलब्ध गराउन भनेको थियो। सोही सूचनाको आधारमा व्यवसायीले विवरण विभागलाई बुझाएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए। नागरिकमा खबर छ।