त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सूचना प्रणाली आधुनिकीकरण गर्न अध्यागमन प्रणाली सफ्टवेयर निर्माणको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) विज्ञ अस्गर अलीको स्वामित्वमा रहेको एफवान सफ्ट र त्यसअन्तर्गतको ई–सेवामा कार्यरत व्यक्तिलाई दिइएको छ। आइटीविज्ञ अलीको दबाब र प्रभावमा अध्यागमन विभागले सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत उनको स्वामित्वमा रहेको कम्पनीमा आबद्ध जनशक्तिलाई परामर्शदाता नियुक्त गरी सफ्टवेयर निर्माणको जिम्मा दिएको हो।
अलीले आफूले ई–सेवाको सिइओबाट राजीनामा दिएको दाबी गर्दै आए पनि केही समयअघि भएको दोस्रो अन्तर्राष्ट्रिय अन्टरप्रेन्युरसिप कन्क्लेभमा उनी प्रधानमन्त्रीको आइटीविज्ञ तथा ई–सेवाको सिइओको हैसियतमा सहभागी भएका थिए। ई– सेवामा कार्यरत अलीका सहोदर भाइ अख्तरको नेतृत्वमा ६ जनाले अध्यागमन सूचना प्रणाली आधुनिकीकरणका लागि सफ्टवेयर निर्माण गरिरहेका छन्।
अध्यागमन विभागले उक्त काम आफ्नै जनशक्तिमार्फत गर्ने दाबी गर्दै आएको थियो। त्यसका लागि विभागले निर्वाचन आयोगबाट दुई इन्जिनियर काज सरुवा गरेर ल्याएको थियो। विभागका महानिर्देशक ईश्वरराज पौडेलले पुस २५ गते विभागमा नै पत्रकार सम्मेलन गर्दै बायोमेट्रिकसहितको सूचना प्रणाली आफ्नै इन्जिनियरको टोलीले तयार गरिरहेको बताएका थिए। तर, अध्यागमनले आउट सोर्सिङमार्फत कानुनी प्रावधान दुरुपयोग गर्दै अपारदर्शी ढंगले परामर्श सेवा खरिद गरेर काम गराइरहेको खुलासा भएको छ। नागरिक दैनिकमा खबर छ।