नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ।
निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ। निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घरखर्चका लागि एक हजार, लुगा धुन दैनिक १५ रुपैयाँ बुझ्छन्।
दैनिक खाजा खर्च एक सय रुपैयाँ पाउँछन्। विदेश भ्रमणका नाममा भारत जाँदा पाँच हजार र अन्य मुलुक जाँदा सात हजार लुगाभत्ता बुझ्छन्। बिमा, चाडबाड र उपचार खर्चको पनि छुट्टै व्यवस्था छ।
१५ दिनअगाडिसम्म निगमले प्रतिदिन करिब आठ करोडसम्म नाफा कमाइरहेको थियो। यो अनुपात कायमै छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागे पनि पुरानो घाटा पूर्ति गर्ने भन्दै निगमले मूल्य समायोजन गरेको छैन। सार्वजनिक संस्थानमध्ये सबैभन्दा आकर्षक तलबभत्ता निगमकै कर्मचारीले बुझ्छन्।
आयल निगमका कर्मचारीले अहिले पाइरहेको तलब–भत्ता अपुग भएको भन्दै थप सुविधा माग गरेका छन्। २६ पुसमा ४९औँ वार्षिक साधारणसभामा आधिकारिक टे«ड युनियनका तर्फबाट धारणा राख्दै निगमका कर्मचारी गोपालचन्द्र राईले मासिक २ हजार महँगी भत्ता थप्नुपर्ने बताए। ‘निजामती कर्मचारीले पाइरहेको मासिक २ हजार भत्ता निगममा पनि लागू गर्न सञ्चालक समितिले निर्णय गरिदिनुपर्छ,’ उनले भनेका थिए। केही समयअघि निगम व्यवस्थापनले सञ्चालक समितिसमक्ष यातायात खर्चबापत मासिक ४५ सय थप सुविधा दिनुपर्ने प्रस्तावसमेत लगेको थियो। नयाँ पत्रिकामा खबर छ।