प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा जग्गाको कारोबार घटेको छ । हेटौँडामा स्थायी राजधानी रहने वा नरहने द्विविधा बढ्न थालेपछि पछिल्लो समय जग्गा कारोबार घटेको जिल्ला मालपोत कार्यालय मकवानपुरले जनाएको छ ।
कात्तिक मसान्तभित्र राजधानी र नामकरणको विषय टुंग्याउने प्रयत्नमा जुटेको प्रदेश सरकारले फागुन मध्यसम्म पनि निर्णय गर्न सकेको छैन । अस्थायी राजधानी तोकिएपछि हेटौँडामा जग्गाको कारोबार ह्वात्तै बढेको थियो ।
मालपोत कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा १९ हजार १ सय ७४ कित्ता लिखत पारित भएको जग्गा आ.व. २०७४/०७५ मा १५ हजार २ सय ४५ र चालू आ.व. २०७५/०७६ को माघसम्म ८ हजार ३ सय १९ कित्ता रहेको छ । हेटौँडा अस्थायी राजधानी घोषणापछि प्रतिधुर न्यूनतम ५ लाखदेखि अधिकतम २० लाखसम्म मूल्यवृद्धि भएको एक जग्गा कारोबारी बताउँछन् ।
लामो समयदेखि मालपोत कार्यालयवरपर रहेर जग्गा कारोबार गर्ने अधिकांश कारोबारीले स्थायी राजधानीको विवाद बाहिरिँदा करोडौँ खर्चिएर खरिद गरेको जग्गा बिक्री गर्न समस्या भइरहेको गुनासो सुनाए । नयाँ पत्रिकामा खबर छ।