सरकार र नेपाल आयल निगम आफ्ना मागप्रति संवेदनहीन भएको आरोप लगाउँदै ग्यास उद्योगीले शुक्रबार (आज)बाट ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) नलिने भएका छन्। एक साताअघि कमिसन वृद्धिसहित १० बुँदे माग अघि सारेर आन्दोलन घोषणा गरेका ग्यास उद्योगीले आफ्ना माग पूरा गर्न दबाब दिन पिडिओ नलिने घोषणा गरेका हुन्।
पिडिओ भनेको इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट ग्यास ढुवानी गरेर ल्याउने अनुमति पत्र हो। नेपाल आयल निगमबाट पिडिओ लिएपछि ग्यास उद्योगीले आइओसीका रिफाइनरीबाट बुलेटमा ग्यास ढुवानी गरेर ल्याई यहाँ रिफिलिङ सेन्टरमा सिलिन्डर भरेर बजारमा पठाउँछन्।
बिहीबार निगम र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि उद्योगीले पूर्वनिर्धारित कार्यक्रम अनुसार आन्दोलन सुरु गरेको बताए।
निगम ग्यास उद्योगीका समस्या सम्बोधन गर्न तयार नभएपछि शुक्रबारबाट पिडिओ नलिने निर्णय गरेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए। ‘६ वर्षअघिदेखि उठाउँदै आएका माग सम्बोधन गर्न निगम तयार भएन,’ भण्डारीले भने, ‘बाध्य भएर पिडिओ नउठाउने अप्रिय निर्णय लिन बाध्य भयौं।’
बिमा खर्च वृद्धि हुँदा पनि ६ वर्षयता कमिसन नबढेकाले उद्योग सञ्चालन गर्न कठिन भएको ग्यास उद्योगीको जिकिर छ। ग्यास उद्योगले यथार्थ सञ्चालन खर्च नपाएको गुनासो गरे। ‘लगानीको आधारमा अहिलेको कमिसनले उद्योग चल्न सक्दैनन्,’ भण्डारीले भने। नागरिक दैनिकमा खबर छ।