अर्थमन्त्री डा युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताएका छन्।
उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको उनकाे भनाइ थियाे। काठमाडौंमा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घको दशौंँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने, “उद्योग क्षेत्रमा निरास हुनुपर्ने अवस्था छैन, हाम्रो आँट र विश्वासलाई मर्न दिनुहुन्न, के गर्नुपर्छ सरकार गर्न तयार छ।”
मन्त्री खतिवडाले सरकारी फार्ममा भेडा, च्याङ्ग्रा पालेर उद्योग सञ्चालन गर्न इच्छुक व्यवसायीलाई सरकारले सहयोग गर्नेसमेत प्रतिबद्धता जनाएका छन्। ज्याला बढ्दै गएको तर उत्पादकत्व नबढेको विषयमा भने आफ्ना कमीकमजोरीबारे व्यवसायीले खाेजि गर्नु पर्नेमा जाेड दिए।
विसं २०६६ मा कृषि क्षेत्रमा बैंकको लगानी एक प्रतिशत रहेकामा अहिले आठ प्रतिशत पुग्नु महत्वपूर्ण उपलब्धि भएको पनि उल्लेख गरे। कार्यक्रममा नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घले वार्षिक एक अर्ब ५० करोडको ऊनी फेल्टका सामाग्री निर्यात गर्दै आएको जानकारी दिएको छ। रासस