राजधानी काठमाडाैंलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडाैं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ। भारतको कोकर्ण रेल्वे कर्पोरेसनले यस्तो प्रस्ताव गरेको हो।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पूर्वसम्भाव्यता अध्ययन गरिएको कर्पोरेसनले रक्सौल—काठमाडाैंका लागि विकल्पसहित दुईवटा मार्ग प्रस्ताव गरेको छ। कोकर्ण रेल्वे कर्पोरेसनले दुईवटा ‘एलाइन्टमेन्ट’ रेल विभाग समक्ष प्रस्ताव गरेको आएको बताउँदै ती दुई मार्गको दुरी पनि फरक फरक रहेको जानकारी दिए। अध्ययन अनुसार एउटा मार्ग छोटो छ भने अर्को मार्ग अलि लामो छ। छोटो दुरी १४० किलोमिटर छ भने लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको छ।
लामो दुरीको मार्ग समयको दृष्टिले यात्रा समय अलि बढी भए पनि जोखिम र निर्माण खर्चको हिसाबले छोटो दुरीको भन्दा बढी उपयुक्त हुनसक्ने उनले जानकारी दिए। यो रेलमार्ग बनाउँदा करिब २० प्रतिशत सुरुङ र पुल निर्माण गर्नुपर्ने अनुमान छ। उक्त रेलमार्ग स्ट्यान्डर्ड (एडभान्स) गेजमा निर्माण गर्न नेपालले भारत समक्ष प्रस्ताव गरेको जानकारी समेत महानिर्देशक मिश्रले जानकारी दिए।
प्रस्तावित रेलमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाउन यसअघि भदौ १५ गते नेपाल र भारतबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुवै देशका अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। गाेरखापत्रमा खबर छ।