नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले २५ प्रतिशत बोनस शेयर र २३.५ प्रतिशत नगद लाभांश दिने भएको हो।
शुक्रबार बसेको कम्पनीको २८२ औं सञ्चालक समितिको बैठकले आगामी साधारणसभाबाट पारित हुने गरी लाभांश घोषणा गरेको हो। कम्पनीले चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँको २५ प्रतिशत अर्थात एक अर्ब ९ करोड रुपैयाँको बोनस शेयर दिनेछ।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ कायम हुनेछ। त्यस्तै बोनस शेयर र नगद लभांशको लागि कर प्रयोजनसहित जम्मा एक अर्ब तीन करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। चुक्ता पुँजी र व्यवसाय दुवैका हिसाबले नेपाल लाइफ नेपालकै ठुलो जीवन बीमा कम्पनी हो।
जीवन बीमा व्यवसाय र लाभांश वितरणका हिसाबले कम्पनी हरेक वर्ष एक नम्बरमा रहँदै आएको छ। कम्पनीले बीमा समितिबाट न्यूनतम चुक्ता पुँजी दुई अर्ब रुपैयाँ जुटाउने निर्देशन आउनु अगावै पुँजी जुटाइसकेको थियो।
जीवन बीमा व्यवसायमा अग्रणी कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २८ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै पुससम्ममा कम्पनीले १० अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ।