लगानीकर्ताले वाणिज्य बैंकहरुबाट दैनिक एक अर्ब ३० करोड रुपैयाँ ऋण लिने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा दुई खर्ब ७४ अर्ब ऋण लगानीकर्ताले लिएका छन्।
पोहोर यो अवधिमा दैनिक करिब एक अर्ब रुपैयाँ ऋण लिन्थे। अघिल्लो आर्थिक वर्ष २०७४/७५ को पहिलो सात महिनामा दुई खर्ब १२ अर्ब रुपैयाँ ऋण उनीहरुले लिएका थिए।
गत वर्षको पहिलो सात महिनाभन्दा यस वर्षको उक्त अवधिमा ऋण लगानी उच्च दरले बढेको छ। लगानीको वातावरण बन्दै गएकाले ऋणको माग बढेको बैंकरहरुको भनाइ छ।
असार मसान्तमा बैंकहरुको कर्जा २१ खर्ब १५ अर्ब रुपैयाँ थियो अहिले (माघ मसान्तसम्म) बढेर २३ खर्ब ८९ अर्ब पुगेको छ। गत वर्षको असार मसान्तमा बैंकहरुको कर्जा १७ खर्ब ३५ अर्ब रहेकोमा सो वर्षको माघ मसान्तसम्म बढेर १९ खर्ब ४७ अर्ब पुगेको थियो।
पहिलेको तुलनमा परिस्थिति सहज बन्दै गएकाले सेवा क्षेत्र, जलविद्युत्, व्यापारिक, प्रत्येक क्षेत्रमा ऋणको माग बढेको बैंकरको भनाइ छ।
बैंकहरुले आक्रामक रुपमा कर्जा प्रवाह गर्न थालेका छन्। लगानीयोग्य रकम अभाव भएसँगै कर्जा प्रवाहमा कमी गरेका बैंकहरुले फेरि कर्जा प्रवाहलाई तीव्रता दिएका हुन्।
नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार माघ महिनामा मात्रै वाणिज्य बैंकहरुले ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यो अघिल्लो महिनाभन्दा १५ अर्ब बढी हो। पुसमा ३० अर्बमात्रै कर्जा प्रवाह गरेका थिए। नागरिक दैनिकमा खबर छ।