नेपाल र बंगलादेशबीच एक अर्काको देशमा लाग्दै आएको दोहोरो कर हटाउने सम्झौता भएको छ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा नेपालकातर्फबाट अर्थ मन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका तर्फबाट अर्थ मन्त्रालय आन्तरिक स्रोत महाशाखाका वरिष्ठ सचिव मुसरफ होसिनबीच सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतासँगै नेपालमा बंगलादेशी नागरिकले लगानी गरेबापतको गरेको आय आर्जनको कर नेपालमा मात्रै तिर्नुपर्नेछ भने बंगलादेशमा नेपालीले गरेको लगानीको आयकर बंगलादेशमै तिर्नुपर्नेछ। कुनै देशमा अर्को देशमा भन्दा बढी दरको कर भए अर्को देशमा तिरेको करलाई समायोजन गरेर अर्को देशमा कर तिर्न सकिने सुविधा प्राप्त हुनेछ। यस्तो अवस्थामा सम्बन्धित देशका लगानीकर्ताले आफ्नो देशमा कर दाखिला गर्दा फरेन ट्याक्स क्रेडिट शीर्षकमार्फत करकट्टि सुविधा पाउँछन्।
सम्झौतापछि दुवै देशका अधिकारीहरुले दुई देशको व्यापारलाई विस्तार गर्नका लागि सम्झौता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। सम्झौता नेपालका लागि ११ औं र बंगलादेशका लागि ३६ औं हो। नेपालले यसअघि चीन, भारत, कतार, दक्षिण कोरिया, पाकिस्तान, मौरिसस, अष्ट्रिया, श्रीलंका, नर्वे र थाइल्याण्ड गरी १० वटा देशसँग दोहोरो कर मुक्ति सम्झौता गरिसकेको छ।
सम्झौतासँगै नेपालमा बंगलादेशको लगानी भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ।