आठ वर्षअघि छानबिन र कारबाहीपछि रोकिएको नक्कली भ्याट बिल बनाउने धन्दा फेरि सुरु भएको पाइएको छ। राजस्व अनुसन्धान विभागले पछिल्लो समय २४ वटा व्यापारिक फर्मविरुद्ध १ अर्ब ७५ करोड रुपैयाँ बिगो कायम गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। १६ कम्पनीमाथि अनुसन्धान भइरहेको छ।
‘केही कम्पनीले नक्कली भ्याट बिल जारी गरेको, तिनै बिलका आधारमा भ्याट फिर्ता गरेको र आयकर छली गरेको भेटियो,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, ‘सुरुमा २४ कम्पनीको कारोबारमाथि अनुसन्धान गरी मुद्दा दायर गर्यौं। बाँकी १६ वटा कम्पनी अनुसन्धानका क्रममा छन्।’ अरू कम्पनीहरूसमेत नक्कली भ्याट बिल बनाउने र जारी गर्ने धन्दामा लागेको सूचना आएको उनले बताए।
उनका अनुसार दोस्रो चरणमा यी कम्पनीहरूको बिल खरिद गरेर कर छल्ने कम्पनीहरूको कारोबारमा अनुसन्धान हुनेछ। यस्ता कम्पनीबाट नक्कली बिल खरिद गरेका कम्पनीको संख्या ४ सय ७८ पुगिसकेको छ। २०६७ सालको नक्कली भ्याट बिल प्रकरणका कतिपय मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिन लागेका बेला ४ वर्षदेखि गुप्त रूपमा चलिरहेको धन्दा सतहमा आएको हो। विभागका अनुसार हालसम्मको अनुसन्धानमा जयकिशोर साहको नेतृत्वमा एउटा गिरोहले कम्पनी खडा गर्ने र त्यसका आधारमा नक्कली भ्याट बिल जारी गर्ने गरेको भेटिएको छ। साहलाई मुकेश झाले साथ दिएको विभागसम्बद्ध स्रोतले बतायो। स्रोतका अनुसार उनी २०६७ सालको भ्याट छली प्रकरणका समेत सूत्रधार थिए। उक्त समूहमा परमेश्वर साह, रमेश मुखिया, तेजमुल अन्सारीलगायतका व्यक्ति छन्। कान्तिपुरमा खबर छ।