पोखराका प्याराग्लाइडिङ कम्पनीले चार वर्षदेखि नवीकरण नगरीकनै व्यवसाय गरिरहेका छन्।
५६ मध्ये ५५ कम्पनीले चार वर्षदेखि नवीकरण गरेका छैनन्। पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले पटक–पटक आग्रह गर्दा पनि प्याराग्लाइडिङ कम्पनीहरूले नवीकरण गर्न अटेर गरेको बताए। प्रत्येक कम्पनीले आर्थिक वर्ष ०७२/७३ देखिको एकमुष्ठ नवीकरण शुल्क ८६ हजार र प्रदेश पर्यटन शुल्कबापत एक लाख बुझाउन बाँकी छ।
महानगरका राजस्व शाखाका वरिष्ठ आन्तरिक लेखापरीक्षक अधिकृत रोमनाथ उपाध्यायले ०७२/७३ को ५ हजार ५ सय, ०७३/७४ को ५ हजार ५ सय, ०७४/७५ को ५० हजार र चालू आव ०७५/७६ को २५ हजार गरी प्रत्येक कम्पनीले नवीकरणबापत ८६ हजार शुल्क बुझाउनुपर्नेछ। यस्तै, प्रदेश सरकारले तोकेको पर्यटन शुल्कबापत प्रत्येकले वार्षिक एक लाख बुझाउनुपर्ने उनले बताए।
नेपालभर प्याराग्लाइडिङ सेवा सञ्चालन गर्ने गरी ६० कम्पनी दर्ता भएका छन्। त्यसमध्ये पोखरामा कम्पनी खोलेका ५६ मध्ये माउन्ट भ्यु प्याराग्लाइडिङ कम्पनीले मात्रै नवीकरण गरेको महानगरले जनाएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।