लामो समयदेखि विवादमा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्ववियु चुनावको अन्तिम मिति तोकिएको छ ।
स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनको संयुक्त बैठकले विवाद टुंगो लगाएको हो । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा बसेको बैठकमा वैशाखको अन्तिम साता वा जेठ १० गतेभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव त्रिविले राखेको छ ।
निर्धारित समयमै चुनाव नहुँदा नयाँ पुस्तामाथि अन्याय भएको भन्दै यस्तो प्रस्ताव आएको हो ।
स्ववियुमा देखिएका एकाध विकृतिहरुसमेत हरेक हरेक २ वर्षमा हुने चुनावले समाधान गर्दै जाने हुँदा समयमै निर्वाचन गरी विद्यार्थीको बलिदानी पूर्ण संघर्षबाट स्थापित स्ववियुको जगेर्नामा जुट्नु सबैको दायित्व रहेको विद्यार्थी नेताहरुले जिकिर गरेका छन् ।
बैठकमा सबै पार्टीका विद्यार्थी नेताहरुको सहभागिता थियो । यस्तै त्रिविको स्ववियु निर्वाचन समितिका पदाधिकारी पनि सहभागी थिए ।
बैठकसँगै त्रिभुवन विश्वविद्यालयले पनि आगामी १० जेठभित्रै चुनाव गर्नेगरी तयारी थालेको छ । यसमा विद्यार्थी संगठनहरु पनि सहमत देखिएका छन् ।