काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग संस्थागत रूपमै करोडौं ठगी गर्दै आएको पाइएको छ । एक विद्यार्थीबाट सरकारले तोकेभन्दा ३० लाखसम्म बढी रकम उठाएको प्रमाण भेटिएको छ ।
एमबीबीएस, बीडीएसलगायत विषय अध्ययनरत विद्यार्थीबाट मेडिकल कलेजहरूले मनोमानी रूपमा बढी शुल्क लिने गरेका हुन् । कलेजहरूले संस्थागत निर्णय गरेर करोडौं रकम जम्मा पार्दा पनि विश्वविद्यालय बसेकाले मिलेमतो हुन सक्ने विद्यार्थीले आशंका गरेका छन् । विश्वविद्यालयको वेबसाइटमा एमबीबीएस अध्ययनका लागि लाग्ने शुल्क उल्लेख गरिएको छैन ।
बीडीएस अध्ययनका लागि सरकारले १९ लाख ३२ हजार शुल्क तोकेको छ । वेबसाइटमा २३ लाख २० हजार शुल्क तोकिएको छ । एमबीबीएस पढ्ने विद्यार्थीसँग कलेजहरूले ६० लाखसम्म शुल्क लिने गरेका छन् । ‘बिल भर्पाइ दिएर देखिने गरी लिने शुल्क ६० लाख हो,’ केयूअन्तर्गतको एक मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले भने, ‘कोर्स पूरा हुँदासम्म अनेक बहाना बनाएर ८० लाखदेखि १ करोडसम्म शुल्क लिन्छन् ।’ विद्यार्थीबाट लिने शुल्कको दर पनि फरक/फरक छ । कान्तिपुरमा खबर छ।