पूर्वाञ्चल विश्वविद्यालयले शनिबार आफ्नै परिसरमा प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई प्रमुख अतिथि बनाएर २६ औं वर्षगाँठ मनाइरहँदा उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा चार–चारवटा ताला झुन्डिरहेका थिए।
ती ताला ६ महिनाअघि विभिन्न विद्यार्थी संगठनले लगाएका हुन्। यो विश्वविद्यालय चार महिनादेखि उपकुलपतिविहीन हुँदा कामचलाउको भरमा छ। तर कार्यक्रमका प्रमुख अतिथिलगायतले उपकुलपतिविहीनता र तालाबन्दीबारे केही उल्लेख नगरी आफ्नो ‘प्रवचन’ मात्रै सुनाए।
नेपाल विद्यार्थी संघले पाँच सूत्रीय मागसहितको विज्ञप्ति टाँसेर गत असार ९ मा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएको थियो। त्यसै दिन पुसेटका विद्यार्थीले अर्को ताला लगाए।
ती दुई तालालाई चुनौती दिन असार २० मा अनेरास्ववियु, अखिल क्रान्तिकारी र संघीय विद्यार्थी फोरमले संयुक्त रूपमा अर्को ताला लगाए। ती तीन ताला नखुल्दै नेपाल विद्यार्थी संघले भदौ ८ मा फेरि अर्को ताला लगायो।तीनै समूहले विश्वविद्यालय सेवा आयोगका अध्यक्षको कार्यकक्षमा पनि भदौ पहिलो साता लगाएको ताला अझै खुलेको छैन।
तालाबन्दीका बेला घनश्यामलाल दास उपकुलपति थिए। ताला खुलाउन पहलै नगरी उनको कार्यकाल भदौ ६ मा सकियो। त्यसपछि सरकारले व्यवस्थापन संकायका डिन बिजुकुमार थपलियालाई कामचलाउ उपकुलपति तोक्यो।
उनी अहिलेसम्म कार्यकक्षमा छिर्न पाएका छैनन्। रजिस्ट्रार प्रमिला थापा पनि ६ महिनादेखि बाहिरै बसेर काम गरिरहेकी छन्।काठमाडौं विश्वविद्यालय (केयू) का प्राध्यापक र कर्मचारीले केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेपछि तीन दिनदेखि शैक्षिक र प्रशासनिक काम ठप्प भएका छन्।
विश्वविद्यालयसँग गरिएको पूर्वसम्झौता कार्यान्वयनको माग अघि सारेर प्राध्यापक र कर्मचारी संघले डिन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टरसहित प्रशासकीय भवनमा ताला लगाएका हुन्। तालाबन्दीका कारण परीक्षासमेत रोकिएको छ।नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) पदाधिकारीविहीन हुँदा प्रशासनिक तथा शैक्षिक काम ठप्प छन्।
उपकुलपति कुलप्रसाद कोइरालाको भदौ ६, कुलसचिव कार्तिकेय झाको भदौ २७ र शिक्षाध्यक्ष रमेशप्रसाद ढकालको असोज १७ मा कार्यकाल सकिएको हो। सेवा आयोगका अध्यक्ष वेणीमाधव ढकाल र सदस्य श्रीधर मजगैयाको वैशाख १५ मै कार्यकाल पूरा भएको थियो। कान्तिपुर दैनिकमा खबर छ।