त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ। पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको नेपाल ल क्याम्पसले अहिले प्रवेश परीक्षामा समेत पढ्न पाउने व्यवस्था गरेको हो।
सबै विद्यार्थीको पढन पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि प्रवेश परीक्षामा सामेल नभएकालाई समेत भर्ना खुलाइएको क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले बताए। पहिले कोटा प्रणाली लागू गरिएको ल क्याम्पसमा पछि प्रवेश परीक्षामा मात्र सामेल भएकाले मात्र भर्ना गर्न पाउने भनिएको थियो।
उनका अनुसार प्रवेश परीक्षामा सामेल नभएकालाई आजदेखि असोज १५ गतेसम्म भर्ना खुला राखिएको बताए। अहिले करीब तीन हजार ६४५ जनाले भर्ना गरिसकेका छन्। कोटा प्रणाली लागू गर्ने सम्बन्धमा विवाद हुँदा करीब चार महिना स्नातक तह प्रथम वर्षको भर्ना रोकिएको थियो। अहिले असोजबाट पढाइ समेत शुरु गरिएको छ।
कालोकोट र ब्याच अनिवार्य
अबदेखि कानूनमा स्नातक तह पढ्नका लागि कालोकोट र ब्याच अनिवार्य गरिएको छ। स्नातकोत्तर तह र स्नातक तहकै पाँच वर्षे बिएएलएलबीमा कालोकोट र ब्याच अनिवार्य गरेको क्याम्पसले यस वर्षदेखि तीन वर्षे एलएलबीमा पनि उक्त व्यवस्था गरेको छ।
विद्यार्थीलाई अनुशासनमा राख्न र कानूनको विद्यार्थीको बोध गराउनका लागि कालोकोट र ब्याच अनिवार्य गरिएको क्याम्पस प्रमुख पराजुलीले बताए।