इन्जिनियरिङमा उच्च शिक्षाका लागि भारतका शैक्षिक संस्थामा जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोला, तपाईंले भर्ना गरेको कलेज नक्कली पनि पर्न सक्छ । भारतको लोकसभामा मंगलबार पेश भएको एक दस्तावेजमा भारतभर इन्जिनियरिङका २ सय ७७ कलेज नक्कली भएको उल्लेख गरिएको हो ।
मानव संशाधन मन्त्री सत्यपाल सिंहले लोकसभामा प्रस्तुत गरेको दस्तावेजअनुसार राजधानी नयाँदिल्लीमा सर्वाधिक ६६ फर्जी कलेज पाइएको छ । यस्तै, तेलंगानामा ३५, पश्चिम बंगालमा २७, कर्नाटकमा २३, उत्तर प्रदेशमा २२, हरियाणामा १८, बिहारमा १७, महाराष्ट्रमा ६ र तमिलनाडुुमा ११ यस्ता कलेज रहेको जनाइको छ ।
ती कलेजले अल इण्डिया काउन्सिल अफ टेक्निकल एजुकेशन (एआइसीटीई) को स्वीकृतिविना कोर्स चलाइरहेका छन् ।
यसका अलावा भारतमा २४ विश्वविद्यालय पनि नक्कली ठहरिएका छन् । भारतका नक्कली विश्वविद्यालयको सूचीका लागि यहाँ क्लिक गर्नुहोला ।