डोल्पाका स्थानीय तहमा रहेका माध्यमिक शिक्षा हेर्नुपर्ने कमचारी नपठाइँदा काम गर्न अप्ठेरो परेको छ। स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बितिसक्दा पनि डोल्पाका स्थानीय तहको पूर्ण अधिकारभित्र पर्ने माध्यमिक शिक्षासम्म हेर्नुपर्ने कर्मचारीहरु अझै पुगेका छैनन्।
सरकारले डेढ वर्षअघि गठन भएका स्थानीय तहमा शिक्षाका कर्मचारीहरु नपठाउँदा शिक्षाका सम्पूर्ण काम लथालिङ्ग भएको ठूलीभेरी नगरपालिका जुफाल डोल्पाले जनाएको छ। संविधान, २०७२ ले माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी तथा अधिकार क्षेत्र स्थानीय तहको हुने ब्यवस्था गरेको छ।
कर्मचारी नभएपछि काम गर्न अप्ठेरो परेको ठूलीभेरी नगरपालिका शिक्षा विभाग हेर्दै आएका विरमल भण्डारी बताए। शिक्षाका कर्मचारीहरु नभएपछि स्थानीय तहलाई यही मङ्सिर महीनामा सञ्चालन गर्नुपर्ने स्थानीय तहस्तरीय कक्षा ८ को परीक्षा सञ्चालन गर्न र सबै विद्यालयमा सञ्चालन हुने अन्य कक्षाका परीक्षाको निरीक्षण तथा अनुगमनसमेत गर्न नसकिने अवस्था रहेको त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले जनाएको छ।
सरकारले व्यवस्था गरेअनुसार नगरपालिकामा एक उपसचिव, एक विद्यालय निरीक्षक, एक प्राविधिक सहायक र गाउँपालिकाहरुमा एक विद्यालय निरीक्षक र एक जना प्राविधिक सहायकको दरवन्दी रहने व्यवस्था गरेको छ। तर सात वटा स्थानीय तहमा शिक्षाका कर्मचारी शून्य रहेका छन् भने शिक्षाका कर्मचारीका नाममा मुड्केचुला गाउँपालिकामा मात्र एक जना प्राविधिक सहायक रहेको शिक्षा विकास तथा समन्वय इकाई डोल्पाका प्रमुख सिंहराज डाँगीले जानकारी दिए।
सम्बन्धित क्षेत्रका कर्मचारी नहुँदा भौतिक पूर्वाधार विकास, निरीक्षण अनुगमनलगायत अन्य काम गर्नु त कता हो कता शिक्षकहरुलाई तलब भत्ता खुवाउन र शिक्षाका कामहरु के के छन् भनेर जानकारीसम्म लिन नसकिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिंह रोकायले बताए। रासस