बर्दियाको गुलरिया नगरपालिका–१२ दुधालालपुरका १० वर्षीया सवनम खाँ र १२ वर्षीया सावा खाँलाई हिजोआज धान काटेर उठाइसकेको खेतमा जानु दिनचर्या जस्तै बनेको छ।
धान उठाइसकेको खाली खेतमा धानको बाला खोजी सिला जम्मा गर्ने र त्यसबाट आएको धान बेची उनीहरूले कापी कलम किन्ने गरेका छन्। उनीहरुजस्तै अन्य बालबालिका पनि दिउँसो पढ्न विद्यालय जाने र बिहान साँझ खेतमा गई धानको सिलाबाट आधा किलोदेखि एक किलोसम्म दैनिक धान जम्मा गर्ने गरेका छन्।
लेखपढ गर्न आमाले पैसा दिन नसक्ने भएपछि धानको सिला जम्मा गर्न जाने गरेको सावाले बताइन्। गरीबीका कारण उनकी आमाले दैनिक मजदुरी गरे पनि साँझबिहान दुई छाक हातमुख जोड्न नै हम्मे हम्मे पर्दछ। सत्ताइस वर्षीया उनकी आमा सोनमलाई बाबुले सम्बन्धविच्छेद गरी घरबाट निकालिदिएपछि माइतीमै बस्दै आएकी छन्।
भारतीय नागरिकसंग विवाह भएका कारण कानूनी उपचार पाउन पनि गर्न समस्या भएको छ। माइतीले बस्ने सहारा दिएपछि मजदुरी गरेरै भए पनि दुई छोरीको पेटसम्म भर्न जसोतसो पुगेको सोनमले बताइन् ।
उनले भनिन्,‘स्वास्थ्यले साथ दिँदासम्म त काम गरे खान–लाउनलाई पुग्छ तर बिरामी भइयो भने भोकभोकै बस्नुपर्छ । उपचार गर्न ऋण नै खोज्नुपर्छ । यस अवस्थामा कसरी छोरीहरुलाई पढाउनु ।
तै पनि उनीहरुले धानको सिला जम्मा गरी बिक्री गरेर कापीकलमका लागि थोरै भए पनि पैसा जोहो गर्दछन् ।’ सबनम र सावा घर नजीकैको मदरसामा ४ र ५ कक्षामा पढ्दै आएका छन्। माइतीमा पनि आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुले बस्नलाई सहाराबाहेक अरू सहयोग पाउन सकेका छैनन्। रासस