रोल्पामा लामो समयदेखि विषयगत शिक्षकको अभाव रहँदा यहाँको शैक्षिक अवस्था कमजोर बन्दै गएको छ।
एउटा विषय पढेको शिक्षकले अर्को विषयसमेत पढाउनुपर्ने बाध्यताका कारण पठनपाठन असहज बनेको हो। जिल्लामा करिब ६० प्रतिशत दरबन्दी कम रहँदा यस्तो समस्या आएको शिक्षामा चासो राख्नेहरू बताउँछन्। रोल्पामा चार सय सात सामुदायिक विद्यालयमध्ये दुई सय ३२ वटामा एउटा पनि शिक्षक दरबन्दी छैन।
दरबन्दी नभएपछि विद्यालयहरूले निजी स्रोतमा शिक्षकको व्यवस्था गर्ने गरेका छन्। यसरी व्यवस्था गरिएका शिक्षकले न्यून तलबमा काम गर्नुपर्ने समस्या एकातिर छ भने अर्कातिर एउटा विषय पढेकाले फरक विषय पढाउनुपर्ने बाध्यताले पनि जटिलता निम्त्याएको छ। यी विविध कारणले गर्दा विद्यार्थीहरूले पढाइएका विषय राम्रोसँग बुझ्न नसकेर नतिजा जहिले पनि कमजोर आउने गर्दछ।
गाउँमै अधिकारसहितको सरकार उपस्थित भए पनि उसको अझै शिक्षा क्षेत्रमा नजर पुग्न सकेको छैन। ‘बढीमा १० वटा माविमा विषयगत शिक्षक छन्। कोही निजी र राहतमा छन्। करिब ६० प्रतिशत विद्यालयमा विषयगत शिक्षक नै छैनन्,’ स्रोत व्यक्ति राजेश धिताल भन्छन्, ‘यसले गर्दा पठनपाठनमा समस्या छ। रोल्पामा वर्षाैंदेखिको शिक्षक अभावले गर्दा यहाँको शैक्षिक अवस्थामा उल्लेख्य सुधार आउन सकेको छैन।’ दरबन्दी नहुनु नै यहाँको मुख्य समस्या रहेको उनको भनाइ छ।
दरबन्दी नभएपछि समुदायबाट रकम उठाएर न्यून तलबमा गरिएको विज्ञापनमा योग्यता पुगेका कोही शिक्षक नआएपछि विद्यालयहरू कामचलाउ शिक्षक राख्न बाध्य हुने गर्दछन्। ‘अंग्रेजी र गणितको विषयगत शिक्षक अलि बढी पाइन्छन्।
विज्ञान विषयको शिक्षक पाउन भने कठिन छ। कतिपय विद्यालयमा कक्षा १० कक्षासम्म पढेकाहरूबाट मावि, निमाविको पढाइ धान्नुपर्ने बाध्यता छ,’ अर्का स्रोत व्यक्ति दामोदर न्यौपाने भन्छन्, ‘कतैकतै भने आइएस्सी, बिएस्सी पढिरहेका, ब्याक लागेकाले पढाइरहेका हुन्छन्।’ भएका योग्य शिक्षक पनि अन्यत्र जाने र कम तलबका कारण योग्यता पुगेका नआउने समस्या रहेको उनी बताउँछन्। नागरिक दैनिकमा खबर छ।