समान्यता परीक्षाका बेला भरिभराउ देखिने धनुषाको धनौजी गाउँपालिका–२ स्थित शंकर माध्यमिक विद्यालय अहिले भने सुनसान देखिन्छ।
करिब ८ सय विद्यार्थी रहेको विद्यालयमा नियमित तीन सय मात्र विद्यार्थी उपस्थित हुँदा परीक्षाको समयमा भरिभराउ र अन्य बेलामा सुनसान लाग्ने गरेको शिक्षकहरु बताउँछन्। विद्यार्थीको न्यून उपस्थित भए पनि विद्यालय परिसर भने खाली हुँदैनन्। परिसर भित्र गाई, भैँसी, बाख्राको बथान नै बाँधेर राखेको दृष्य सहजै देख्न सकिन्छ। एकातिर शिक्षक पढाइ रहन्छन्, विद्यार्थी पढिरहन्छन् र छेउमै चरिरहेको पशुचौपाया कतिबेला विद्यार्थीको समुहमा आइहाल्ने ठेगान हुँदैन।
विद्यालय परिसरमा चौपायाधनीहरु कहिँकतै नदेखिए पनि दिनभरि विद्यार्थी खेल्ने चौरमा खुल्ला चौपाया चरेको देखिन्छ भने कतै किल्ला ठोकेर बाँधेको गाई, भैँसी तथा बाख्रा देखिन्छ। ‘विद्यालय परिसरमा भैँसी, बाख्रा नचराउन स्थानीहरुलाई हामी पटक पटक आग्रह गर्दै आएका छौँ तर उनीहरु मान्दैनन्। विद्यालयका प्रधानाध्यापक विजय मण्डलले भने, ‘हामीले पटक पटक किल्ला उखेलेर समेत फाल दिने गरेका छौँ तरपनि उनीहरु मान्दैनन्, उल्टै झगडा गर्छन्।’
मान्छेको आवतजावत सार्वजनिक सडक जस्तै रहनु समान्य नै भइसकेको छ, विद्यालय परिसरमा। जाडो याममा विद्यार्थीहरु विद्यालय परिसरमा घाम ताप्दै पढेर बसेका हुन्छन्। तर पढ्दै गरेको विद्यार्थीको छेउबाटै ट्रयाक्टर चल्दा उनीहरुको ध्यान पनि त्यसमै केन्द्रित हुन्छ।
उनीहरुलाई ट्रयाक्टरले उडाएको धुलो निल्दै पढ्नुपर्ने बाध्यता समेत छ। विद्यालयमा जम्मा १६ जना शिक्षक छन्। सो मध्ये दुइजना जना शिक्षक एक साता देखि तालिम लिन गएका छन् भने एक जना शिक्षिका सुत्केरी विदामा रहेका कारण बिद्यार्थीले कहिले पुरा घण्टी पढ्न नपाउने गरेको बिद्यार्थीको गुनासो छ। बाँकी अन्य शिक्षकहरु पनि करिब १५ दिनदेखि विद्यालय र स्थानीय वासिन्दाहरुबीच चल्दै आएको विवादले विदामा हुन्छन् भने कोही व्यक्तिगत कामले नै।
विद्यालयमा ६ जनासम्म शिक्षक एकैपटक विदामा बस्ने गरेको पाइएको छ। शिक्षक अनुपस्थित भएपछि विद्यार्थीहरु प्राय विद्यालय परिसरमा खेलेरै समय बिताउँछन्। ‘६ जना शिक्षक अनुपस्थित छन्, हाम्रो कक्षा खाली छ त्यसैले हामी खेलेर समय बिताइ रहेका छौँ,’ कक्षा ९ का विद्यार्थी हरिओम पासवानले बताए। विद्यालयमा शिक्षक अनुपस्थित नभएको बेला पनि ५ घण्टीभन्दा बढी पढाई नहुने गरेको उनले गुनासो गरे।
भौतिक पूर्वाधारको पनि उतिकै अभाव तथा समस्या छ, शंकर मावि धनौजीमा। जर्जर अवस्थामा रहेको विद्यालय भवनमा कहीँ झ्याल फुटेका छन् भने कहीँ टुटेका डेस्क बेन्चहरु कक्षामा थन्काएर राखिएको छ। तल्लो कक्षामा विद्यार्थीको संख्या न्युन रहेपनि माथिल्लो कक्षामा भने विद्यार्थीको चाप उच्च छ। कक्षा ६ देखि कक्षा १० सम्म मात्र विद्यार्थीको संख्या ७ सय ११ रहेका छन्।
कक्षा ६ मा १ सय ६०, कक्षा ७ मा २ सय ११, कक्षा ८ मा १३७, कक्षा ९ मा ९२ र कक्षा १० मा विद्यार्थी संख्या १ सय ११ रहेका छन्। तर एउटै कक्षामा सयौँ विद्यार्थी भएपनि उपस्थिती भने मात्र ४० देखि ५० प्रतिशतसम्म हुन्छन्।
‘ग्रामीन भेगमा गरिबका छोरीछोरी सामुदायिक विद्यालयमा पढ्छन्। विद्यार्थीहरु कि त घरमै काममा लाग्छन कि आमाबुवासँगै काम गर्न जान्छन, अभिभावकमा पनि चेतनाको कमी छ।’ शिक्षक सरोज यादवले भने, ‘विद्यालयको भौतिक अवस्था समेत जर्जर छ यी कारणहरुले मात्र करिब ५० प्रतिशतसम्म विद्यार्थी उपस्थित हुन्छन्।’
पठनपाठनको बेला विद्यार्थीहरुको खासै उपस्थिति नदेखिएपनि जाँचको बेला भरिभराउ हुने गरेको शिक्षक यादवले दावी गरे। विद्यार्थीको यतिधेरै चाप भएपनि एउटा कक्षामा मुस्किलले १० वटासम्म डेस्क बेन्च देखिन्छ। ‘कक्षामा पहिला आउने विद्यार्थी बेन्चमा बस्न पाउँछन्। तर, पछि आउनेलाई उभेरै पढ्नुपर्ने बाध्यता हुन्छ’, कक्षा १० मा अध्ययनरत आशा कुमारी यादवले बताइन्।
परीक्षाको बेला विद्यार्थीहरुको संख्या बढेपछि झनै समस्या हुनेगरेको विद्यार्थीहरुको भनाइ छ। तर आफुहरुले वर्षौदेखि प्रधानाध्यापकलाई डेस्क बेन्चको व्यवस्था गर्नकालागि पटक पटक आग्रह गरेपनि समस्या भने समाधान हुन नसकेको विद्यार्थीहरुले गुनासो पोखे। विद्यालयमा शुलभ तथा छात्रामैत्री सौचालय नभएपछि विद्यार्थीहरुलाई बिचमै पढाई छाडेर शौचका लागि घरमै पुग्नुपर्ने बाध्यता पनि छ। विद्यालयमा शौचालय रहे पनि पानीको व्यवस्था छैन्।
छात्राहरुकालागि सेनेटरी प्याडको व्यवस्था समेत नभएकाले महिनावारीकाबेला छात्राहरु विद्यालयमा अनुपस्थित हुने गर्छन्। विद्यालयमा यी समस्याहरुको चांङ नयाँ नरहेको र यसकालागि आफुले पहल गर्ने प्रयास गर्दै आएको प्रधानाध्यापक विजय कुमार मण्डलले बताए। अब केही दिन भित्रै डेस्कबेन्चको समस्या समाधान हुने उनले दावी गरे।
यता प्रधानाध्यापक मण्डलले विद्यालयको रकम हिनामिना गरेको भन्दै स्थानीहरु आन्दोलनमा उत्रेका छन्। छात्रवृत्ति वितरण नै नगरि रकम हिनामिना गरेको व्यक्तिलाई कारबाही गर्न, विद्यालयका अन्तरिक श्रोत तथा शिक्षा कार्यालयबाट आएको अनुदान पारदर्शी गर्न, विषयगत शिक्षकहरुबाट पठनपाठन गराउन र भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै १५ दिनदेखि धार्नामा बसेका छन्।
करिब डेढ वर्षदेखि विद्यालयको आयव्यय विवरण मागिरहँदा प्रअ मण्डलले दिन नमानेको स्थानीहरुको गुनासो छ। दलित तथा छात्राहरुकालागि गएको श्रावण महिनामै आएको छात्रवृति अहिलेसम्म नबाँडेर प्रअ मण्डलले आफ्नै निजी प्रयोजनकालागि खर्च गरेको स्थानीहरु बताउँछन्। प्रअ मण्डलले विद्यालयको आन्तरिक कार्य व्यस्तताले समयमा छात्रवृति वितरण गर्न नसकेको रकम बैँक खातामा जम्मा रहेको दावी गरे।
स्थानीहरुले विद्यालयको पोखरी र ३२ विघा जग्गाबाट वार्षिक लाखौँ आम्दानी हुने गरेपनि प्रअ मण्डलले आम्दानी पारदर्शी नगरी भ्रष्टाचारमा लिप्त रहेको धर्नामा बसेका स्थानीय पुलकित साहले आरोप लगाए। तर प्रअ मण्डलले विद्यालयको ४ वटा पोखरीबाट मात्र आम्दानी हुने गरेको र बाँकी ३२ विघा जग्गा बाँझो रहेकाले त्यसबाट कुनै आम्दानी नहुने गरेको दावी गर्छन्।
पटक पटक प्रअ मण्डललाई बिल, भुक्तानी, भौचर, बही खाता लिएर आउन भनिएपनि कुनै न कुनै बहानामा भाग्दै गरेको स्थानीहरुको आरोप छ। प्रअ मण्डलले विना आधारकै भवन निर्माणको लागि तत्कालिन जिल्ला शिक्षा कार्यालय धनुषाले उपलब्ध गराएको २४ लाख रुपैयाँ, ढोका झयाल निर्माणको लागि करिब २६५ क्यूबिक फिटको सिसौको लकडी र पोखरी जिर्णेद्धारमा मात्र १० लाख लागेको मौखिक जानकारी दिएको बताइएको छ।
प्रअ मण्डलले भवन निर्माणमै करिब ४२ लाखको मौखिक हिसाब भनेपनि आफूहरुले त्यसको बिल भपाई तथा सम्बन्धित कागजातहरु पेश गर्न भनेपछि असमर्थ भएको स्थानीय पुलकित साहले जनाए। पोखरी जिर्णोद्दारका लागि समेत डोजरको बिल मागेपछि दिन अस्विकार गरेको र डोजर मालिकले आफूलाई मौखिक रुपमै कार्य गराएको उनको भनाई छ।
स्थानीय र विद्यालयका प्रअबीचको विवादले विद्यालयको पठनपाठन प्रभावित भएको छ। यता, गाउँपालिका अध्यक्ष बद्री सिंहले विद्यालयमा भौतिक संरचना अभाव र अन्य सहयोगकालागि प्रअ मण्डलले आफुहरुलाई कहिले सम्पर्क नगरेको आरोप लगाए।
‘विद्यालयमा फर्निचर चाहियो, शैक्षिक समाग्री चाहियो भनेर आजसम्म हामीलाई प्रअज्यूले भन्नु भएको छैन्।’ अध्यक्ष सिंहले भने, ‘विद्यालयको हरम्भव सहयोगकालागि हामी तयार छौँ।’ उनले विद्यालयमा स्थानीय र विद्यालयका प्रअबीचको विवादका कारण शैक्षिक अवस्था झनै धरासायी बनेको बताउँदै आफु यसको समन्वय गरिरहेकाले छिट्टै विवाद सामाधान हुने दावी गरे।