कर्मचारी समायोजनाको गम्भीर असर यस वर्षको एसइइ परीक्षामा पर्ने देखिएको छ। सामायोजनका लागि आवेदन दिएका कर्मचारी अन्यत्र जाने भएपछि परीक्षामा समस्या पर्न थालेको हो।
समायोजनको चर्चासँगै कर्मचारी अलमल पर्दा कति विद्यार्थीले कुन विषयमा परीक्षा दिने हो भन्ने विषयमा अहिलेसम्म कुनै तथ्यांक तयार हुनसकेको छैन। अधिकांश कर्मचारीले समायोजना फारम भरेर अन्यत्र सरुवा हुने सम्भावना देखेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको प्रकृया पूरा नभएसम्म परीक्षा नियन्त्रण कार्यालयका सबै कर्मचारीलाई यथावत राख्नुपर्ने आवाज उठाएको छ। यसका लागि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पत्र बुझाइएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए।
‘एकातिर कर्मचारीको लफडा भइरहेको र अर्कोतिर एसईई परीक्षा सम्पन्न गर्न समस्या परिरहेको अवस्थामा मन्त्रालयले नै कर्मचारी व्यवस्थापन गर्नुपर्ने अवस्थामा त्यसतर्फ ध्यानाकर्षण गराउन पत्राचार गरेका हौँ’ –उनले भने।
बोर्डले गत पुस २९ गते पठाएको पत्रमा खारेज भएको निकायमा कर्मचारी नखटाउन आग्रह गर्दै करिब साढे ४ लाख विद्यार्थी सहभागी हुने परीक्षा सञ्चालन गर्न गम्भीर समस्या पर्ने भएकाले पनिकामा कार्यरत कर्मचारीलाई तत्काल सरुवा नगर्न भनिएको छ।
उक्त पत्रमा सहमति नलिइ मनपरी रुपमा कर्मचारीलाई एसइइ परीक्षा कार्यालयमा काजमा सरुवा गरिएकोमा आपत्ति जनाइएको छ।
शिक्षा ऐनले खारेज गरिसकेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा मन्त्रालयले छुट्टै परीक्षा नियन्त्रक पठाएको छ। हाल बोर्डअन्तर्गत दुई जना परीक्षा नियन्त्रक कार्यरत छन। पनिकामा हाल ४० जना कर्मचारी कार्यरत छन्। बोर्डको मातहतमा आइसकेको पनिकाका कर्मचारीलाई बोर्डकै मातहता ल्याउन आग्रह गरिएको अध्यक्ष प्राडा पौडेलले बताए। नेपाल समाचार पत्रमा खबर छ।