म्याग्दीको बेनी नगरपालिकाले आगामी शैक्षिक वर्ष २०७६ देखि बेनी नगरपालिका क्षेत्रका विद्यालयमा स्थानीय तहको पाठ्यक्रम लागू गर्ने भएको छ। आगामी शैक्षिक वर्षदेखि नै स्थानीय तहका विषयवस्तु राखिएको पाठ्यक्रम निर्माणका लागि नगरकार्यपालिकाले पाठ्यक्रम निर्माण गर्न शुरु गरेको हो।
नगरपालिकाको पाठ्यक्रम निर्माण समितिले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम निर्माणका लागि काम अघि बढाएको पाठ्यक्रम निर्माण समितिको धार्मिक तथा सांस्कृतिक विषयका संयोजक कृष्णबहादुर बानियाँले जानकारी दिए।
समितिले विभिन्न विषयसँग सम्बन्धित विज्ञ तथा सरोकारवालासँग छलफल गरेर पाठ्यक्रम निर्माणका लागि सुझाव सङ्कलन गरेको जनाएको छ। म्याग्दी जिल्ला र बेनी नगरपालिकासँग सम्बन्धित विभिन्न विषयलाई समेटेर पाठ्यक्रम बनाउन शुरु गरिएको पाठ्यक्रम निर्धारण समितिका संयोजक सोमनाथ ढुङ्गानाले बताए।
म्याग्दीका प्राकृतिक स्रोतसाधनका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटन, कृषि, उद्योग, वन, वन्यजन्तुलगायतका विषयलाई पाठ्यक्रममा समेटिने नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले बताए। रासस